
काठमाडौं। मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक सार्वजनिक भएको छ। यो पुस्तकले महिलाको गर्भावस्थादेखि १८ वर्षसम्म बालबालिकालाई हुर्काउने सबै प्रक्रिया, जसमा आमाबाबुले अपनाउनुपर्ने व्यवहार, सोच र सीपलाई केन्द्रित गरेर प्रस्तुत गरेको छ। शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय रहँदै आएकी लेखिका मथुरा थापाको यो पुस्तकमा अभिभावकत्वलाई मात्र जिम्मेवारी होइन, संवेदनशील कला तथा दीर्घकालीन सामाजिक लगानीका रूपमा व्याख्या गरिएको छ। ७४ अध्यायमा विभाजित यस कृतिमा नानीको बानी विकासदेखि असल अभिभावक मार्फत असल समाज निर्माणसम्मका विषयहरू सरल र व्यावहारिक तरिकाले प्रस्तुत गरिएको छ।
बालमनोविज्ञानमा आधारित सुझावहरू, उमेरअनुसारका विकासका चरणहरू, खेलकुद, आहार, व्यवहार तथा सिकाइका तरिका सन्तुलित रूपमा समेटिएका छन्। यसले अभिभावकलाई केवल जानकारी मात्र होइन, व्यवहारमा पनि लागू गर्न सकिने मार्गदर्शन प्रदान गर्दछ। पुस्तकका प्राध्यापक डा. विदुर चालिसेले यसलाई नेपाली समाजका अभिभावक, गृहिणी, सामाजिक अभियन्ता तथा बाल पालन गर्ने सबैका लागि दिशानिर्देशक कृति भनेका छन्। उनका अनुसार बालबालिकाको समुचित विकासका लागि खेलौनाको छनोट, पोषणयुक्त आहार, प्राथमिक पाँच वर्षको महत्त्व, उमेरअनुसार खेलकुद र व्यवहार व्यवस्थापनजस्ता पक्षमा पुस्तकले विशेष जोड दिएको छ।
लेखिकाले स्पष्ट रूपमा उल्लेख गरेकी छन्, बालबालिका जन्मँदै असल वा खराब हुँदैनन्। उनीहरूको व्यक्तित्व निर्माणमा अभिभावक, शिक्षक र समाजको व्यवहार, वातावरण र संस्कार निर्णायक भूमिका खेल्छ। अभिभावकको बोली, व्यवहार र जीवनशैलीबाट बालबालिका सबैभन्दा छिटो प्रभावित हुने भएकाले सचेत अभिभावकत्व अत्यावश्यक हुन्छ। २१ वर्षको शिक्षण अनुभवका आधारमा लेखिकाले विभिन्न स्वभाव र पृष्ठभूमिका बालबालिका तथा अभिभावकसँगको अन्तरक्रियाबाट प्राप्त ज्ञानलाई पुस्तकमा समेटेकी छन्।






