Skip to main content

गृहमन्त्रीको राजीनामा माग गर्दै एमालेले उच्चस्तरीय संयन्त्र गठन गरी अनुसन्धान गर्न आग्रह गर्‍यो

मीनबहादुर शाही/फाइल तस्वीर समाचार सारांश संपादकीय समीक्षा गरिएको। नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले गृहमन्त्रीसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। एमालेले उच्चस्तरीय संयन्त्र गठन गरी गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न तत्काल अनुसन्धान सुरु गर्न माग गरेको छ। ८ वैशाख, काठमाडौं। नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ। ‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ। यसका लागि नेकपा (एमाले) स्पष्ट रूपमा भन्छ–अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ,’ एमालेले आफ्नो विज्ञप्तिमा भनेको छ। गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्न पनि एमालेले माग गरेको छ। ‘साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहीत बनाउन तुरुन्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौं,’ एमालेले भनेको छ।