नेपाल विद्यार्थी संघले पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न माग

नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न आग्रह गरेको छ। नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीहरूलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। ८ वैशाख, काठमाडौं।
गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेपाल विद्यार्थी (नेवि) संघले माग गरेको छ। नेविसंघका कार्यवाहक सभापति नविन पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। विरोध लोकतन्त्रको आत्मा भएको भन्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निःसर्त रिहा गर्नुपर्ने माग गरेको हो।
पक्राउ परेका विद्यार्थीहरूलाई अविलम्ब रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उसले दिएको छ। गृहमन्त्री गुरुङको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने, सत्यतथ्य स्पष्ट पार्न तथा तत्काल राजीनामा दिई निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्ने नेविसंघले माग गरेको छ। गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने क्रममा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, सीटीईभीटी अध्यक्ष कुम्मरोज देउवा तथा विद्यार्थी नेताहरू नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विसाल बिसीलाई पक्राउ गरिएको नेविसंघले जनाएको छ।






