
फिल्म ‘राम नाम सत्य’ले २७ चैतदेखि रिलिज भएर सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले जानकारी दिए। निर्माता उपेन्द्र शाहीले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी भएको र अमेरिकामा अप्रिल २४ देखि २०० शो हुने जानकारी दिएका छन्। निर्देशक माइकल चन्दले डिजिटल राइट्स ७२ लाखमा बिक्री भई निर्माण पक्षलाई लाभ भएको र ३ करोडको बजेटमा बनेको फिल्मबाट सुरक्षित हुने कदम चालिएको बताए।
काठमाडौं । २७ चैतदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले बक्सअफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताएका छन्। शनिबारसम्म विकास बोर्डको तथ्यांक अनुसार फिल्मको कमाइ करिब २ करोड ७८ लाख रुपैयाँ भएको थियो। तर, केही हलका तथ्यांक बोर्डमा नजोडिने भएकाले वितरकको अनुसार व्यापार थोरै बढी देखिएको वितरक शाहीले बताए।
फिल्मले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले जानकारी दिए। अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ देखि यो फिल्म २०० शो सहित प्रदर्शनमा रहनेछ। निर्माण पक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा बिक्री गरेको हो। अमेरिकाबाट पनि निर्माताहरूलाई राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ।
ओएसआर डिजिटलबाट फिल्मले ७२ लाख रुपैयाँ डिजिटल राइट्स बिक्रीबाट प्राप्त गरेको निर्देशक माइकल चन्दले जानकारी दिए। डिजिटल राइट्स ७२ लाखमा बिक्री भएपछि निर्माण पक्षलाई समेत फाइदा भएको छ। ३ करोड बजेटमा बनेको यो फिल्मबाट आफूहरू सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दले बताए। श्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन्।






