गृहमन्त्रीसँग पाँच घण्टा लामो छलफल, राति रास्वपाका महामन्त्री किन गृहमन्त्रालय पुगे?

गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी आईजीपी दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरूसँग पाँच घण्टासम्म छलफल गरेका छन्। उक्त छलफल साँझ ६ बजेबाट सुरु भई राति करिब ११ बजे सम्म चलेको थियो। छलफलको विषय सार्वजनिक गरिएको छैन।
राति करिब ११ बजे मन्त्रालय बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ठूला माछा समात्न लागेको भन्ने हल्लाबारे प्रश्न गर्दा गृहमन्त्रीले “पछि बताउँला” भनी जवाफ दिएका थिए। त्यही क्रममा, रास्वपाका महामन्त्री कविन्द्र बुरालकोटिले गोरखाको समस्या सुनाउन काठमाडौंका सीडीओलाई फोन गरेर गृहमन्त्रालय पुगेका थिए। उनले गृहमन्त्री व्यस्त भएका कारण प्रशासनका कर्मचारीहरूसँग भेट गरेर फर्किएको बताएका छन्।
“गृहमन्त्रीज्यू आईजीपी र काठमाडौंका सीडीओसँग छलफलमा हुनुहुन्थ्यो। मैले उहाँलाई बैठकमा भेटेको छैन,” बुरालकोटिले भने, “गृहमन्त्रालय चुपचाप बस्ने ठाउँ होइन। त्यसैले मन्त्रीज्यूले आफ्नो तरिकाले काम गर्दै हुनुहुन्छ।” उनले थपे कि गृहसचिवज्यू पनि त्यहाँ भेट्नुभएको थियो र उहाँ मन्त्रीज्यूको कार्यालयमा जानु भएको थियो।






