‘हाम्रो आवाज, नयाँ नेपाल’ गीतमार्फत ‘बफिन्स ९८’ ले जेन-जी विद्रोहको आवाजलाई उजागर गर्याे

पोखरेली सांगीतिक समूह ‘बफिन्स ९८’ ले जेन-जी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर नयाँ गीत ‘हाम्रो आवाज : नयाँ नेपाल’ सार्वजनिक गरेको छ। यस गीतले २०८२ साल भाद्र २३ गतेका युवाहरूको सडक संघर्ष र दमनलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। गीतले भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा रोकथामविरुद्धको युवाहरूको आवाजलाई मुख्य विषय बनाएको छ।
यस म्युजिक भिडियोले २०८२ साल भाद्र २३ गते देशभरका युवाहरूले परिवर्तनका लागि उठाएको बुलन्द आवाज र सडक संघर्षलाई जीवित रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। सरकारले नागरिकहरूको असन्तुष्टिलाई बेवास्ता गरेपछि स्वतःस्फूर्त रूपमा सडकमा आएका जेन-जी पुस्तामाथि गरिएको निरंकुश दमन, अन्धाधुन्ध गोली प्रहार र त्यसबाट दर्जनौं युवाहरूको ज्यान गुम्नु तथा घाइते हुनु पर्ने करुणामय यथार्थ गीतमा झल्काइएको छ।
गायक सञ्जीव गुरुङको शब्द र स्वरमा रहेको यस गीतले युवाहरूलाई आफ्नै माटोमा फर्केर देश निर्माणमा जुट्न आह्वान गरेको छ। यसअघि पनि ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता दर्जनौं कालजयी देशभक्तिपूर्ण र सामाजिक चेत जागृत गर्ने गीतहरू प्रस्तुत गरिसकेको यो समूहले देश परिवर्तनको अपरिहार्यतालाई पुनः एकपटक सांगीतिक धूनमार्फत स्पष्ट पारेको छ।
म्युजिक भिडियोमा जेन-जी आन्दोलनमा देखिएको युवा उभार, कलाकारले कलामार्फत व्यक्त गरेको एकताको भाव साथै हिमाल, पहाड र तराईका आम नेपालीहरूको श्रम र जीवनशैलीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। ब्यान्डकै बेस गिटारिस्ट जीवन भाइले सम्पूर्ण नेपालका दृश्यलाई यस भिडियोमा समेटेका छन्। ‘हाम्रो आवाज-नयाँ नेपाल’ केवल सांगीतिक प्रस्तुति मात्र नभएर जेन-जी आन्दोलनका अमर सहिद, घाइते र उनका परिवारप्रति भावपूर्ण सम्मान रहेको ब्यान्डले जनाएको छ।






