Skip to main content

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण सम्पन्न, रास्वपा प्रमुखसँग दुईपक्षीय साझेदारीमा छलफल

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले ९ वैशाखमा सम्पन्न नेपाल भ्रमणमा नेपाल–अमेरिका साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। कपुरले सत्तारुढ रास्वपा सभापति, परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेट गरेर दुईपक्षीय सम्बन्ध र आर्थिक सहकार्य विस्तारका विषयमा विचार–विमर्श गरेका थिए। उनी अमेरिकी लगानी सम्मेलनका लागि नेपाली प्रतिनिधिमण्डलसँग छलफल गर्दै प्रविधि क्षेत्रमा सहकार्यका सम्भावना खोज्न प्रयासरत थिए।

९ वैशाख, काठमाडौं। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण आज सम्पन्न भएको छ। भ्रमणको क्रममा उनले उच्चस्तरीय भेटवार्तामा नेपाल–अमेरिका साझेदारी सुदृढीकरण र व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका छन् भन्ने जानकारी नेपालस्थित अमेरिकी दूतावासले दिएको छ।

भारतीय मूलका कपुर ७ वैशाखमा काठमाडौं आएका थिए। बालेन नेतृत्वको सरकारले गठन भएयता काठमाडौं आएका सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ उहाँ हुनुहुन्छ। नेपालमा बसेको अवधिमा उनले सत्तारुढ रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा दुईपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने, लगानी प्रवर्द्धन गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विचारहरू साटासाट गरिएको थियो।

सहायक सचिव कपुरले अमेरिकामा हुँदै गरेको लगानी सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका अवसरबारे छलफल गरेका थिए। साथै, उनले अमेरिकी र नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि छलफल गर्दै नेपालमा तीव्रगतिमा विकास भइरहेको प्रविधि क्षेत्रमा सहकार्यका सम्भावना अन्वेषण गर्ने प्रयास गरेका थिए। भ्रमणका क्रममा उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अवलोकन समेत गरेका छन्। बौद्धनाथ स्तुपा र पाटन दरबार स्क्वायरमा भ्रमण गरेका उनले यी विरासत संरक्षणमा अमेरिकाबाट ‘एम्बासडर फण्ड फर कल्चरल प्रिजर्भेसन’ मार्फत सहयोग भइरहेको उल्लेख गरेका छन्।