
समाचार सारांश नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता अपरिहार्य भएको र चुनौतीहरू पार गर्न एकताबद्ध हुनुपर्ने बताएका छन्। ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा सन्देश पठाउँदै पार्टीले निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरेका छन्। उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाएका थिए र ओली अस्वस्थ भएर घरमै आराम गरिरहेका छन्। ९ वैशाख, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन्। अस्वस्थ भएर घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका थिए। उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाए।
‘पार्टीको नेतृत्वमा भएका विभिन्न आन्दोलनहरूले उपलब्धि पनि हासिल गरेको छ। तर पटक-पटक पीडा पनि व्यहोरेको छ। निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेलेको छ पार्टीले,’ ओलीले पठाएको सन्देश सुनाउँदै बादलले भने, ‘मुलुकलाई सुखी र समृद्ध नेपालको मार्गमा डोर्यायो। नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँसम्म आएको हो। एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ।’ उनले आजको समयमा चुनौती पार गर्न पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन्।






