
पूर्वमिस नेपाल निकिता चाण्डकलाई नेटफ्लिक्सको वेब सिरिज ‘ग्लोरी’मा देख्न सकिने भएको छ। चाण्डकले इन्स्टाग्राममार्फत मे १ देखि ‘ग्लोरी’ हेर्न आग्रह गरेकी छन् र यो उनको पहिलो वेब सिरिज हो। सिरिज थ्रिलर र बदलाको कथामा आधारित छ र एटोमिक फिल्म्सले निर्माण गरेको हो।
काठमाडौं। पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकलाई नेटफ्लिक्सको वेब सिरिज ‘ग्लोरी’मा देख्न सकिने भएको छ। चाण्डकले आफैं इन्स्टाग्राममार्फत यस सम्बन्धमा जानकारी दिएकी छन्। यो हिन्दी वेब सिरिज निकिताको डेब्यु हुनेछ, जसलाई १ मे देखि नेटफ्लिक्समा स्ट्रिमिङ गरिनेछ। निकिताले इन्स्टाग्राममा लेखेकी छन्, ‘मेरो लागि यो ‘रेड सिजन’ जस्तो देखिँदैछ, सायद यो मेरो ‘नेटफ्लिक्स सिजन’ भएकाले। मे १ देखि नेटफ्लिक्समा ‘ग्लोरी’ हेर्नुहोस्। यो मेरो पहिलो वेब सिरिज हो।’
पोस्टमा उनलाई बधाई र शुभकामनाका प्रतिक्रिया आइरहेका छन्। यो सिरिजलाई एटोमिक फिल्म्सले निर्माण गरेको हो र थ्रिलर तथा बदलाको कथामा आधारित रहेको देखिन्छ। यद्यपि, सिरिजमा निकिताको भूमिका के कस्तो र कति लामो छ भन्ने कुरा उनले खुलाएकी छैनन्।
निकिता नेपालको चर्चित मोडल, अभिनेत्री तथा सौन्दर्य प्रतियोगिता विजेता हुन्। उनले मिस नेपाल २०१७ जितेकी थिइन् र सोही वर्ष मिस वर्ल्डमा नेपाल प्रतिनिधित्व गरेकी थिइन्। उनले अभिनय यात्रा नेपाली फिल्म ‘साङ्लो’ बाट सुरु गरेकी हुन्। पछिल्ला वर्षमा उनी भारतको मुम्बईमा बसोबास गर्दै अभिनय, विज्ञापन र डिजिटल प्रोजेक्टमा सक्रिय छिन्। गत वर्ष उनले संजयलीला भन्सालीको आगामी फिल्ममा अभिनय गर्ने बताएकी थिइन्। उनले राजकुमार रावसँगै एक विज्ञापन फिल्ममा पनि अभिनय गरेकी छन्। उनले अभिनय गरेको पछिल्लो नेपाली फिल्म ‘राजागञ्ज’ हो, जसलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका हुन्। यो फिल्म भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो।






