Skip to main content

तानसेनमा नमुना युवा संसद अभ्यास सम्पन्न

१० वैशाख, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–९ स्थित दमकडा नमुना माध्यमिक विद्यालयमा नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। दमकडा मावि र टोनी हागन फाउन्डेसनको आयोजनामा यस संसद्को अभ्यास गरिएको हो। विद्यार्थीहरूलाई संसदको बैठक प्रक्रिया सम्बन्धी जानकारी दिन, तर्क क्षमता विकास गर्न र लोकतन्त्रमा अभ्यस्त बनाउन यो कार्यक्रम आयोजना गरिएको वडाअध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो।

फाउन्डेसनका सचिव तथा प्रतिनिधिसभाका पूर्व सांसद फटिक थापाको सहजीकरणमा सम्पन्न नमुना संसद बैठकमा ‘समाजमा लागुपदार्थको बढ्दो प्रयोगले व्यक्ति, परिवार, समाज तथा समग्र राष्ट्रलाई गम्भीर क्षति पुर्‍याइरहेको छ। समाजमा लागुऔषध प्रयोगविरुद्ध सचेतना अभिवृद्धि गर्ने दूरदृष्टि, उद्देश्य र लक्ष्य लिएर विद्यालय तथा समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रमहरू युवा परिचालन मार्फत कार्यन्वयन गर्ने नीतिगत व्यवस्था गरियोस्’ भन्ने संकल्प प्रस्तावमाथि छलफल गरिएको थियो।

विद्यार्थी सहभागीहरूले सभामुख, मन्त्री, सांसद, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए। नमुना संसद्मा रोशनी पाण्डेले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा मोहित कोइराला, खुसी सारू, पवन बस्याल, अनिश्चित पाण्डेय, प्रासना ढुंगाना, रीज़न अधिकारी लगायतले भाग लिएका थिए। नमुना संसदमा प्रमुख युवा सांसदले उठाएका प्रश्नहरूको जवाफ गृहमन्त्री सदीक्षा पराजुलीले दिएका थिए।

कार्यक्रमकी सभामुख ओजस्वी आचार्यले संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन्। त्यसअघि शून्य समयमा सेजल बस्याल, रक्षा बस्याल, आयुष्मा पौड्याल, गुन्जन बस्याल, स्नेहा पाण्डे, रक्षा पाण्डे, मोनिका उचै, सुभेच्छा कार्की, प्रज्ञा न्यौपाने, मनिषा गाहा, अनु शर्मा, समज्ञ घिमिरे, दर्शन पुरी, बबिता ढकाल, रोजिन थापा, मेनुमा डिसुवा, लेखादेवी अधिकारी, पवी भट्टराईलगायतले समाजमा आएकाज्वलन्त समस्या सम्बन्धी सरकारको ध्यानाकर्षण गराएका थिए।

नमुना संसद सचिवालयका कर्मचारीको भूमिकामा बोनु काफ्ले, कृष्ण घिमिरे र दीपिका बस्याल थिए भने प्रमिला चिदी, संगिता दर्लामी, धीरज खाम्चा, श्रीधर कुँवर, गृष्मा रेश्मी र मीनबहादुर खान्गाहले मर्यादापालकको भूमिका निभाएका थिए। पत्रकारको भूमिकामा विद्यार्थीहरू ईशा अधिकारी, रन्जना थापा र सुप्रिया बस्याल सहभागी थिए। नमुना संसद्मा सहभागीहरूलाई प्रमुख अतिथि तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजेशकुमार अर्यालले प्रमाणपत्र वितरण गरे। प्रमुख अतिथिले विद्यालयमा हुने नमुना संसद अभ्यासले निरन्तरता पाउनुपर्ने बताएका छन्। उनीहरूले यस विद्यालयका विद्यार्थीहरूका लागि यो कार्यक्रम नयाँ भएको पनि बताए।