
११ वैशाख, काठमाडौं । आज नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न निर्वाचनको आयोजना गर्दैछ। सर्वसम्मतिको सम्भावना नभएपछि निर्वाचनमार्फत दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाइएको हो। पूर्वनिर्धारित योजनाअनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। दाबी विरोध, समीक्षा, दोस्रो नामावली प्रकाशन, नाम फिर्ता गर्ने लगायतका प्रक्रिया पूरा भएपछि दिउँसो साढे ३ बजे अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिने तालिका रहेको छ। अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदान हुने जानकारी निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले दिएका छन्। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।
संसदीय दलका नेताका लागि पूर्व सहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी प्रस्तुत गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो। गगन थापा र विश्वप्रकाशको चाहना असफल बन्दै प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको करिब दुई महिना नजिकिँदै गर्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकिरहेको छैन। पार्टीका एक शीर्ष नेताका अनुसार सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माका विभिन्न चाहनाका कारण नेताको चयनमा ढिलाइ भएको हो। सभापति थापाले प्रत्यक्ष निर्वाचित सांसद मोहन आचार्यलाई र उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउने प्रयास गरिरहेका छन्। आचार्य रसुवा क्षेत्रबाट प्रत्यक्ष निर्वाचित व्यक्ति हुन् भने आङ्देम्बे पाँचथरबाट समानुपातिक सांसद हुन्। आङ्देम्बे १४औं महाधिवेशनमा सहमहामन्त्रीका रूपमा चयन भएका थिए।






