पाकिस्तानले इरानका लागि ग्वादर र कराची बन्दरगाहहरू खोल्ने निर्णय गर्यो

पाकिस्तानले इरानका लागि ग्वादर र कराची बन्दरगाहहरू खोल्ने र छ वटा नयाँ व्यापारिक करिडोरहरू स्थापना गर्ने घोषणा गरेको छ। पाकिस्तानको वाणिज्य मन्त्रालयले ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान आदेश २०२६ अन्तर्गत यी व्यापारिक करिडोरहरू खोलेको जनाएको छ। यो निर्णयले पाकिस्तानलाई क्षेत्रीय व्यापारिक करिडोर र लजिस्टिक्स हबको रूपमा स्थापित गर्न महत्वपूर्ण सहयोग पुर्याउनेछ।
पाकिस्तानको वाणिज्य मन्त्रालयका अनुसार, यस आदेशले पाकिस्तान र इरानबीच ट्रान्जिट व्यापारलाई थप सुदृढ बनाउँदै क्षेत्रीय व्यापारलाई प्रवर्द्धन गर्ने काम गर्नेछ। वाणिज्य मन्त्री जाम कमालले भने, ‘यो कदमले पाकिस्तानको रणनीतिक महत्वलाई वृद्धि गर्नेछ र देशलाई क्षेत्रीय व्यापारिक करिडोर तथा लजिस्टिक्स हबको रूपमा स्थापित गर्न सहयोग पु¥याउनेछ।’
विश्लेषकहरूका अनुसार, यो निर्णय इरानप्रति विश्वास निर्माण गर्ने महत्वपूर्ण पहल हो। आर्थिक विश्लेषक डा. आबिद सुलेहरीका अनुसार, पाकिस्तानले यस कदमलाई अमेरिकाको विश्वासमा लिएर मात्रै अघि बढाएको हुनुपर्छ। यो निर्णयले पाकिस्तान-इरान बीचको द्विपक्षीय व्यापारमा बृद्धि हुने र क्षेत्रीय व्यापारमा पाकिस्तानको भूमिका थप सशक्त हुने अपेक्षा गरिएको छ।






