Skip to main content

सुनको सिक्री लुट्ने गिरोहका ५ जना पक्राउ

सुनको सिक्री लुट्ने गिरोहका पाँच जनालाई प्रहरीले काठमाडौंको पैयुँटारबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट र सोलुखुम्बुका १९ देखि ४४ वर्षका पाँच जना छन्। गिरोहले गत चैतदेखि विभिन्न स्थानमा महिलाको सिक्री थुतेर लुटपाट गरेको प्रहरीले जनाएको छ। १५ वैशाख, काठमाडौं।

पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी नगरपालिका–३ का २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँका २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिका घर भएका ४४ वर्षीय सतिस अमातय र सोलुखुम्बु घर भएका १९ वर्षीय रितिका माझी छन्। गत चैत १२ गते मातातीर्थस्थित फन पार्कमा हिँडिरहेका बेला मोटरसाइकलमा आएका २ जनाले एक महिलाको गलाको सिक्री थुतेर फरार भएका थिए। १९ चैतमा नैकापमा हिँडिरहेकी ७० वर्षीया महिलाको गलाको सिक्री थुतेर एउटा समूह फरार भएको थियो। ६ वैशाखमा चन्द्रागिरीमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएको समूहले एक महिलाको सिक्री थुतेको थियो। अहिले पक्राउ परेका समूह यही सिक्री थुत्नेमा संलग्न रहेको प्रहरीले बताएको छ। उनीहरूलाई काठमाडौं पैयुँटारबाट प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट १२.९० ग्राम सुन, ठूलो रेन्ची, सानो रेन्ची, खुकुरी, पेचकस समेत बरामद भएको छ।