Skip to main content

राघव चड्ढा किन भारतीय जनता पार्टीमा प्रवेश गरे?

१५ वैशाख, काठमाडौं । ‘भाजपाले हाम्रो पार्टीको एक साधारण स्वयंसेवकलाई समेत किन सक्दैन, प्रदेश सभाका सदस्य र सांसदहरूको कुरा त छोडौं,’ करिब साढे चार वर्षअगाडि आम आदमी पार्टी (आप) का तत्कालीन प्रवक्ता राघव चड्ढाले सञ्चारकर्मीहरूसामु यसै शब्दहरू उच्चारण गर्दा उनको अनुहारमा आक्रोश र आत्मविश्वासको मिश्रण स्पष्ट देखिन्थ्यो। ‘भाजपा भनेको धोखाधडीको पार्टी हो,’ उनले थपेका थिए। अप्रिल २४ मा तिनै राघव चड्ढा आफ्नो पार्टी आपका छ जना अन्य राज्यसभा सांसदहरूसहित भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। उनको यो राजनीतिक ‘यू-टर्न’ लाई आदर्शवादको सबैभन्दा विडम्बनापूर्ण अन्त्यका रूपमा धेरैले टिप्पणी गरेका छन्। आम आदमी पार्टीले आफ्ना स्थापना कालदेखि नै अनेकौं झट्का बेहोर्दै आएको देखिन्छ। योगेन्द्र यादव, प्रशान्त भूषण, कुमार विश्वासजस्ता व्यक्तित्वहरू क्रमशः पार्टीबाट बाहिरिँदा अब आपले बहिर्गमनका धक्काहरू सहन सक्ने ‘जिगर’ बनाइसकेको हुनुपर्छ। तर, दुई तिहाइ सदस्यहरू गुमाउनु आपलाई घाइते बनाउन पर्याप्त देखिन्छ। राजनीतिमा नैतिकता र अवसरवादबीचको रेखा कति अस्पष्ट हुन्छ भन्ने उदाहरण राघव चड्ढाको पछिल्लो कदमले पुष्टि गरेको छ।

भाजपालाई ‘लोकतान्त्रिक मूल्यको हत्यारा’ र ‘हर्स ट्रेडिङ’ मा लिप्त शक्ति भन्ने चड्ढा आज आफैं सोही दलको शरणमा पुगेका छन्। राघव चड्ढा : सेनाको सपनादेखि अन्ना आन्दोलनसम्म भारतीय राजनीतिका प्रभावशाली युवा अनुहार राघव चड्ढाको उदय कुनै पारिवारिक विरासत वा परम्परागत राजनीतिक पृष्ठभूमिबाट भएको होइन। ११ नोभेम्बर १९८८ मा नयाँ दिल्लीको एक मध्यमवर्गीय परिवारमा जन्मिएका चड्ढाको प्रारम्भिक जीवन अन्य सामान्य सहरी विद्यार्थीहरू जस्तै रहेको देखिन्छ। उनले दिल्लीको प्रतिष्ठित ‘मोडर्न स्कुल, बाराखम्बा रोड’ बाट आफ्नो विद्यालय शिक्षा पूरा गरेका थिए। चड्ढा स्वयं त्यो बेला आफ्नो राजनीतिक भविष्यबारे अनभिज्ञ थिए तापनि विद्यालयको शैक्षिक वातावरणले उनको नेतृत्व क्षमताको बलियो जग बसेको बुझिन्छ।

सन् २०११ मा समाजसेवी अन्ना हजारेको नेतृत्वमा सुरु भएको ‘इन्डिया अगेन्स्ट करप्सन’ अभियानले भारतभर ठूलो हलचल मच्चाएको थियो। त्यतिबेला २२ वर्षका युवा सीए राघव पनि भ्रष्टाचारविरुद्धको त्यो आन्दोलनबाट टाढा हुन सकेनन्। उनी ‘जन लोकपाल विधेयक’ को माग गर्दै सडकमा उत्रिएका हजारौं नागरिकको भिडमा सामेल भए। यहीँबाट उनको राजनीतिक यात्राको निर्णायक मोड सुरु भयो। आन्दोलनकै क्रममा चड्ढाको भेट भ्रष्टाचारविरोधी कार्यकर्ता तथा दिल्लीका भावी मुख्यमन्त्री अरविन्द केजरीवालसँग भयो। चड्ढाको वित्तीय मामिलाप्रति गहिरो ज्ञान र तीक्ष्ण विश्लेषण क्षमताबाट केजरीवाल प्रभावित भए। फलस्वरूप, मात्र २४ वर्षको उमेरमा केजरीवालले उनलाई ‘दिल्ली लोकपाल विधेयक’ को मस्यौदा तयार गर्ने जिम्मेवारी सुम्पिए।

अन्ततः अप्रिल २४ मा यो प्रक्रिया औपचारिक भयो। अरविन्द केजरीवाल दिल्लीको नयाँ सरकारी निवासमा परिवारसहित सर्दै गर्दा र सामाजिक सञ्जालमा जानकारी दिँदै गर्दा चड्ढासहित सन्दीप पाठक, स्वाति मालीवाल, हरभजन सिंहजस्ता सात जना प्रभावशाली सांसदहरूले सामूहिक रूपमा पार्टी त्गेर भाजपामा विलय हुने घोषणा गर्। उनीहरूले राज्यसभा अध्यक्षसमक्ष आवश्यक कागजात बुझाए र भाजपाको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा सदस्यता लिए। पार्टी प्रवेशपछि अप्रिल २७ मा चड्ढाले एक विस्तृत भिडियो सन्देशमार्फत आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने प्रयास गरे। उनले आपभित्रको विषाक्त कार्य वातावरणलाई मुख्य कारण भन्दै सात जना सांसद एकैसाथ गलत हुन नसक्ने भने। तर, आपले यस कदमलाई अवैध र असंवैधानिक भन्दै कडा विरोध गर्‍यो।

सामाजिक सञ्जालमा चलिरहेको ‘#UnfollowRaghavChadha’ ट्रेन्डले उनलाई एक समयको युवा आइकनबाट पाखण्डी नेता बनाएको छ। विशेषगरी जेनजी मतदाताहरूका लागि यो ‘यू-टर्न’ स्वच्छ राजनीतिक सपनाको अन्त्य हो। क्रान्तिकारी चड्ढा र आजका सत्ता आकांक्षी चड्ढाबीचको दूरीले उनको दशक लामो राजनीतिक पूँजीलाई एकछिनमै कमजोर बनायो।