
विश्व निकेतन, तरुण, ज्ञानोदय, त्रिपद्म विद्याश्रम लगायतका आठ सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। यी विद्यालयहरूले प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र नविन कार्यक्रममार्फत गुणस्तरीय शिक्षा सम्भव भएको प्रमाणित गरेका छन्। काठमाडौं उपत्यकाभित्रका धेरै सामुदायिक विद्यालयहरूमा अहिले विद्यार्थीको चाप बढ्न थालेको छ। सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्चाउने प्रवृत्ति छ। महँगा निजी स्कुलमा छोराछोरी पढाउनुलाई प्रतिष्ठा ठान्ने र सामुदायिक स्कुलमा पढाउनुलाई हीनताका दृष्टिले हेर्ने प्रवृत्ति हाम्रो समाजमा छ। तर अहिले धेरैले निजी स्कुलबाट निकालेर आफ्ना छोराछोरी सामुदायिक स्कुलमा भर्ना गराउँदैछन्। यसमा सरकारी विद्यालयले नतिजामा मात्र नभएर विद्यार्थीको बहुआयामिक विकासमा ध्यान दिनुपर्छ। उत्कृष्ट नतिजा, प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र नविन कार्यक्रममार्फत केही सरकारी विद्यालयहरूले उत्कृष्ट शिक्षा दिइरहेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरमा धेरै राम्रा सामुदायिक विद्यालयहरू छन्। गुणस्तरीय शिक्षा सरकारी विद्यालयमै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका यी मध्येका ८ विद्यालयको विवरण हामीले प्रस्तुत गरेका छौँ।
१. विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर: विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित एक उत्कृष्ट सामुदायिक विद्यालय हो। वि.सं. २००३ साल माघ १९ गते स्थापना भएको यस विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ४ हजार विद्यार्थी अध्ययनरत छन्। १३५ शिक्षक तथा कर्मचारी कार्यरत छन्। नियमित रूपमा उच्च शैक्षिक नतिजा दिन सफल यो विद्यालयले वि.सं. २०७४ र २०७५ मा लगातार राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको थियो। विद्यालयको गुणस्तरप्रति शिक्षक तथा कर्मचारीहरूको समेत उच्च विश्वास छ।
२. तरुण माध्यमिक विद्यालय, बालाजु: तरुण माध्यमिक विद्यालय २०३० सालमा स्थापना भएको थियो। स्थापनाको १७ वर्षभित्रै यसले राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट हुने कीर्तिमान राखेको छ भने एक पटक दोस्रो स्थान प्राप्त गरेको छ। क्षेत्रीय र बागमती प्रदेशस्तरमा पनि पटक–पटक पुरस्कृत भएको यो विद्यालयले २०५८ सालमा पहिलो पटक देशकै नम्बर एक सामुदायिक विद्यालयको रूपमा सम्मान पाएको थियो।
३. ज्ञानोदय माध्यमिक विद्यालय, बाफल: ज्ञानोदय मावि पनि काठमाडौंको एक उत्कृष्ट सामुदायिक विद्यालय हो। २०२९ सालमा स्थापना भएको यो विद्यालय २०३६ सालमा माध्यमिक विद्यालयको रूपमा स्वीकृत भएको थियो। हाल ४ हजारको हाराहारी विद्यार्थी अध्ययनरत रहेको यो विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तर दुवैमा देशकै अब्बल सामुदायिक विद्यालयमध्ये एक मानिन्छ।
४. त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, ललितपुर: त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय ललितपुरको पुल्चोकमा अवस्थित एक प्रथम श्रेणीको सामुदायिक विद्यालय हो। वि.सं. २००४ मा स्थापना भएको यो विद्यालय नेपालका पुराना र अग्रणी सामुदायिक विद्यालयहरूमध्ये एक हो।
५. मेधा माध्यमिक विद्यालय, भक्तपुर: भक्तपुर नगरपालिकाको तेखापुखुमा अवस्थित मेधा माध्यमिक विद्यालय सामुदायिक शिक्षाको क्षेत्रमा उत्कृष्ट नमुनाको रूपमा चिनिने विद्यालय हो।
६. भानु माध्यमिक विद्यालय, रानीपोखरी: यो विद्यालय दरबार हाई स्कूलका नामले परिचित छ। वि.सं. १९१० सालमा स्थापना भएको यो विद्यालय नेपालकै पहिलो अंग्रेजी भाषामा पढाइ हुने विद्यालयका रूपमा थापाथलीस्थित दरबारमा सुरु भएको थियो।
७. श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगाल: काठमाडौं महानगरपालिका–७ कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालय साँघुरो भौतिक पूर्वाधारका बाबजुद पनि उत्कृष्ट शैक्षिक नतिजा दिन सफल सामुदायिक विद्यालय हो।
८. महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय, बालुवाटार: महेन्द्र राष्ट्रिय विद्यालय सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो।






