Skip to main content

कैलालीमा २७ वर्षपछि हत्या अभियुक्त पक्राउ

१६ वैशाख, धनगढी। कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–११ ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, पक्राउ परेका कामी जग्गाको विवादका कारण भएको हत्या घटनामा दोषी ठहर भएका छन्।
उनकाअनुसार उक्त घटना २०५६ असार ११ गते भएको थियो। प्रहरीका अनुसार उनी गोदावरी नगरपालिका–११ स्थित गौडी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी जिल्ला अदालत कैलालीमा पेश गरिएको छ। अनुसन्धानका क्रममा कामी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको खुलेको छ। घटना पश्चात फरार रहेका उनलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ।