Skip to main content

खानेपानी विभागका पूर्व प्रमुख किशोरीप्रसाद यादवमाथि डेढ करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी विभागका तत्कालीन प्रमुख किशोरीप्रसाद यादवमाथि डेढ करोड रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको छ। आयोगका अनुसार, २०४७ असार ३१ देखि २०८० पुस ९ सम्म यादवको आय र खर्चमा एक करोड ४६ लाख रुपैयाँ बढी स्रोत पुष्टि नभएको बताइएको छ। यादवकी श्रीमती निर्मला कुमारीको नाममा रहेको सम्पत्ति समेत जफत गर्न र जेल सजायको माग गरिएको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिब डेढ करोड भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो। यादवको नियुक्ति मिति २०४७ असार ३१ देखि २०८० पुस ९ सम्मको समयावधि जाँच गर्दा उनले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको छ।

अख्तियारका अनुसार यादवको वैधानिक आम्दानी कुल तीन करोड ४६ लाख २१ हजार रुपैयाँ रहेको छ। जाँच अवधिमा निज र परिवारका सदस्यहरूको खर्चमा जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन खरिद, अध्ययन खर्च तथा अन्य पक्षमा व्यय भएको देखिएको छ। कुल आयभन्दा कुल व्यय एक करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

अख्तियारले गैरकानुनी रूपमा आर्जित यस सम्पत्ति यादवकी श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको भन्दै बिगो जफत, जरिवाना र जेल सजायको माग राखेको छ। उनीमाथि अन्य विषयमा समेत थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।