Skip to main content

७ वर्षीय बालकले पौडी मारेर श्रीलंकाबाट भारत पुगे, नयाँ कीर्तिमान बनायो

७ वर्षीय भारतीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म २९ किलोमिटर दूरी ९ घण्टा ५० मिनेटमा पौडेर कीर्तिमान कायम गरेका छन्। युनिभर्सल रेकर्ड्स फोरमले सिंहलाई विश्वकै सबैभन्दा कम उमेरका पौडीबाजको प्रमाणपत्र प्रदान गरेको छ। राँचीका सांसद तथा केन्द्रीय रक्षा राज्यमन्त्री सञ्जय सेठले सामाजिक सञ्जालमार्फत ईशांकलाई बधाई दिएका छन् र यसलाई भारतका लागि स्वर्णिम उपलब्धि भनेका छन्। १८ वैशाख, काठमाडौं।

भारतको झारखण्ड प्रान्तको राँचीबाट करिब ७ वर्षको बालक ईशांक सिंहले श्रीलंकाबाट भारतसम्म पौडेर नयाँ रेकर्ड कायम गरेका छन्। उनले २९ किलोमिटरको दूरी ९ घण्टा ५० मिनेटमा पार गरेका थिए। ईशांकले श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्म पौडेर यात्रा पूरा गरेका हुन्। भारतीय मिडियाले उनी विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज भएको उल्लेख गरेका छन्। यस असाधारण सफलताका लागि युनिभर्सल रेकर्ड्स फोरमले उनलाई प्रमाणपत्र पुरस्कार स्वरूप प्रदान गरेको छ।

यस अघि यो कीर्तिमान तमिलनाडुको जय जसवन्तले राखेका थिए, जसले सन् २०१९ मा १० वर्षको उमेरमा मात्रै यो दूरी १० घण्टा ३० मिनेटमा पार गरेका थिए। राँचीको डोरन्डास्थित जवाहर विद्या मन्दिर श्यामली विद्यालयमा कक्षा ३ मा अध्ययनरत ईशांकले यो लक्ष्य हासिल गर्न धुर्वा बाँधमा दैनिक ४–५ घण्टा कडा अभ्यास गरेका थिए।

ईशांकले आफ्ना प्रशिक्षक अमन जयसवाल र बजरंग कुमारको मार्गदर्शनमा विशेष प्रशिक्षण प्राप्त गरी यो सफलता हासिल गरेका हुन्। उनलाई पौडिँदै गर्दा डुंगामार्फत् पछ्याउने सुरक्षाकर्मीहरू राखिएको थियो। राँचीका सांसद तथा केन्द्रीय रक्षा राज्यमन्त्री संजय सेठले सामाजिक सञ्जालमार्फत ईशांकलाई बधाई दिएका छन्। उनले भनेका छन्, ‘राँचीका बालकको अद्भुत उपलब्धि! ईशांक सिंहले २९ किलोमिटर लामो पाक जलडमरूमध्य पार गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। यो भारतका लागि पनि अतुलनीय उपलब्धि हो। उनले केवल ९ घण्टा ५० मिनेटमा तलाईमन्नार (श्रीलंका)बाट धनुषकोडी (भारत) सम्म पौडी लगेका छन् र विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज बनेका छन्।’