Skip to main content

मेची भन्सारबाट अलैंची निर्यातमा वृद्धि, चिया निर्यातमा गिरावट

१८ वैशाख, भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म अलैंची निर्यात ४१.५८ प्रतिशतले वृद्धि भएको छ । भन्सार कार्यालयका तथ्याङ्क अनुसार सो अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैंची निर्यात गरिएको छ । चालु आवको नौ महिनामा पाँच हजार २९५ मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन् । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको उनले थपे ।

त्यसै गरी, भन्सार कार्यालयका तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा चिया निर्यात २६.७३ प्रतिशतले घटेको छ। सो अवधिमा दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा चिया निर्यात तीन अर्ब २७ करोड २० लाख ७२ हजार रुपैयाँ बराबरको भएको सूचना अधिकारी हुमागाईंले जनाएका छन्। कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशतले वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाताको निर्यात १७४७.८१ प्रतिशतले र मोलासिस ३६१.३५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ। मेची भन्सारबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्म १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।