सामाजिक सुरक्षा कोषमार्फत श्रमिकलाई व्यापक राहत, डेढ करोडसम्म सापटी योजना सार्वजनिक

१९ वैशाख, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमार्फत लाभान्वित श्रमिकहरूका लागि डेढ करोड रुपैयाँसम्मको घरघडेरी सापटी कार्यक्रम घोषणा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकहरूको लागि सो सापटी निर्देशनका बारेमा घोषणा गरेका हुन्। मन्त्रालयका प्रवक्ता मेघनाथ रिमालका अनुसार मन्त्री यादवले न्यूनतम ६ प्रतिशत व्याजदरमा डेढ करोडसम्मको घरघडेरी सापटी उपलब्ध गराउने कार्यक्रम घोषणा गरेका छन्।
मन्त्री यादवले यो घोषणा १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुक्रबार आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा शुभकामना भिडियो सन्देश मार्फत् गरेका हुन्। उनले पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ पनि गरिसकेको जानकारी दिएका छन्। साथै, मन्त्री यादवले विदेशमा रहेका नेपाली श्रमिकको समस्याको समाधान गर्न र संवादका लागि नेपाली राजदूतावासबाट साप्ताहिक ‘फेसबुक लाइभ’ कार्यक्रम सञ्चालनमा आएको पनि जानकारी गराएका थिए।






