
१९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले निर्वाचित सर्वसत्तावादको मार्गमा लागेको आरोप लगाएका छन्। शनिबार जिल्ला समन्वय समितिको जिम्मेवारी विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले १०० दिनभित्र नबोल्ने सोच भए तापनि सरकारले गरेका गतिविधिहरूले केही कुरा अवश्य भन्नुपर्ने परिस्थितिको सिर्जना गरेको बताएका छन्। ‘केही कुरा नबोले नहुने, रेकर्ड नगरे नहुने, त्यसबारे समाजलाई सचेत नगरे नहुने अवस्था सिर्जना भएको छ,’ नेता ज्ञवालीले भने।
सरकारको कार्यशैली हेर्दा नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका लोकतान्त्रिक अधिकारहरू संकुचित हुने खतरा देख्न थालेको उहाँले चर्चा गर्नुभयो। २०२१ सालको पञ्चायतकालमा नेपालका जनताले संघर्ष गरेर प्राप्त पहिलो अधिकार स्वतन्त्र विद्यार्थी युनियनको अधिकार रहेको स्मरण गर्दै उहाँले भने, ‘त्यतिबेला दलहरू प्रतिबन्धित थिए, नेताहरू जेलमा थिए, तर विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार २०२१ सालमा जितेका छन्। आज त्यो अधिकार कटौती हुने घोषणा गरिएको छ।’
त्यसैगरी, ट्रेड युनियनको अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले भने, ‘हो, ट्रेड युनियनमा विकृति हुन सक्छ, विद्यार्थी संगठनमा विकृति हुनसक्छ, दलहरूमा पनि विकृति हुन्छन्। तर दलमा विकृति भएको भन्दै दलविहीन व्यवस्था कल्पना गर्नु हुँदैन।’
उहाँले तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा त्यस्तै कदम चाल्नुभएको कुरा स्मरण गराउनुभयो। स्वतन्त्र मिडियाहरू बलियो नबन्न भनेर विज्ञापनमा समेत नियन्त्रण लगाइएको जानकारी दिँदै उहाँले भने, ‘यो लगभग निषेध नै हो। सामाजिक सञ्जालमा पनि त्यही अवस्था छ। स्वस्थ बहस नहोस् भनेर एउटा बुन्थले सङ्गठित समूह बनाउँदै फरक विचारलाई दबाउने, बलात्कार गराउने अवस्था सिर्जना गरेको छ।’ यी सबै गतिविधिहरू निर्वाचित सर्वसत्तावादमा प्रवेशको संकेत भएको उहाँको टिप्पणी छ। ‘हामी निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक शासनतर्फ अगाडि बढिरहेका छौं कि भन्ने प्रारम्भिक संकेतहरू देखिएकामा म चिन्तित छु,’ उहाँले थप्नुभयो।






