Skip to main content

ममता बनर्जी: पश्चिम बङ्गालकी ‘दिदी’

१९ वैशाख, काठमाडौं । भारतीय राजनीतिमा पश्चिम बङ्गाल अनौठो प्रयोगशाला हो। यहाँ विचारधारा र व्यक्तिको टक्करले सदैव नयाँ इतिहास जन्माउने गर्छ। तीन दशकभन्दा लामो समयसम्म जरा गाडेर बसेको कम्युनिस्ट शासनलाई एउटै जुझारु महिलाको आँटले ढालिदियो। उनी हुन्– ममता बनर्जी। आज पश्चिम बङ्गालको राजनीतिमा ‘दिदी’ शब्द एउटा सम्बोधन मात्र नभएर ममताको साम्राज्यको पर्यायवाची नै बनेको छ। कलेजको साधारण धर्ना र विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा केन्द्रीय मन्त्रालयका ठूला कार्यकक्षहरू हुँदै राज्यको मुख्यमन्त्रीसम्म पुग्यो। सन् २०११ मा वामपन्थी किल्ला ढालेर सत्तामा आएकी ममताले त्यसपछि लगातार तीन कार्यकाल राज्यको नेतृत्व गरिसकेकी छन्। अहिले उनी चौथो पटक सत्तामा फर्किने लक्ष्यका साथ चुनावी मैदानमा उभिएकी छन्।

३४ वर्षे वामकिल्ला पतनको मोड पश्चिम बङ्गालको राजनीतिक इतिहासमा वाममोर्चाको शासन एउटा विरल र शक्तिशाली अध्यायको रूपमा रहेको छ। सन् १९७७ देखि २०११ सम्म लगातार ३४ वर्ष राज्य सत्ताको बागडोर सम्हालेको कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) नेतृत्वको सरकारले भारतकै सबैभन्दा लामो एकल विचारधाराको शासनको कीर्तिमान कायम गरेको थियो। ज्योति बसुको नेतृत्वमा सुरु भएको यो शासनकालले सुरुवाती दिनमा ‘भूमि सुधार’ र ‘पञ्चायती राज’ मार्फत ग्रामीण क्षेत्रमा अभूतपूर्व पकड जमाएको थियो। यसले हजारौँ भूमिहीन किसानलाई जमिनको मालिक बनाउनुका साथै राजनीतिक चेतनाको नयाँ लहर ल्याएको थियो। यद्यपि, शासन जति लामो हुँदै गयो, यसको पद्धतिमा उत्ति नै कठोरता र विसङ्गतिहरू देखिन थाले। विद्यालय, अस्पताल र सरकारी प्रशासनमा स्थानीय पार्टी कार्यालयहरूको प्रत्यक्ष हस्तक्षेप र नियन्त्रण एउटा सामान्य प्रक्रिया जस्तै बन्यो।

अचल सम्पत्ति व्यवसायी र पार्टीका शीर्ष नेताहरूबीचको अपारदर्शी सम्बन्धले भ्रष्टाचारको नयाँ संस्कृतिलाई जन्म दियो, जसका कारण पूर्वमन्त्री अशोक भट्टाचार्य जस्ता प्रभावशाली नेताहरू समेत गम्भीर आरोपको घेरामा परे। बढ्दो बेरोजगारी र अवसरहरूको कमीले शिक्षित युवा पुस्ता राज्यबाट बाहिरिन बाध्य भयो। राजनीतिक संरक्षणमा हुने धाँधली र डरको वातावरणले आम जनतामा गुम्सिएको आक्रोश बढ्दै गयो। अन्ततः सन् २०११ को विधानसभा निर्वाचन बङ्गालका लागि ‘परिवर्तन’ को एउटा निर्णायक क्षण सावित भयो। दशकौँदेखि मौन रहेका जनताले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गरे। परिणामस्वरूप, अजेय मानिएको ३४ वर्षे लालकिल्ला ढल्यो। ममता बनर्जीको नेतृत्वमा बङ्गालले नयाँ राजनीतिक दिशा प्राप्त गर्‍यो।