Skip to main content

पुराना प्रभुत्वशाली क्षेत्रीय दलहरूलाई ठूलो धक्का

सन् २०२६ मा पश्चिम बंगाल, तमिलनाडु, केरल, असम र पुडुचेरीमा सम्पन्न विधानसभा निर्वाचन परिणामहरूले राष्ट्रिय राजनीतिको दिशामा नयाँ आयाम थपेका छन्। यी पाँच राज्यको सामूहिक नतिजाले भाजपाको राजनीतिक सामर्थ्यमा अभूतपूर्व वृद्धि देखाएको छ। केही स्थापित क्षेत्रीय दलहरूको भविष्यमाथि गम्भीर प्रश्न उठेका छन्। विशेषगरी पश्चिम बंगालमा १५ वर्ष लामो तृणमूल कांग्रेसको शासन समाप्त हुनु र भाजपाले पहिलो पटक दुई तिहाइ बहुमतका साथ सत्ताको नेतृत्व सम्हाल्नु यो निर्वाचनको सबैभन्दा ठूलो उलटफेर मानिएको छ।

दक्षिण भारतको राजनीतिमा पनि यसपटक ठूलो परिवर्तन आएको छ। तमिलनाडुमा दशकोंदेखि कायम रहेको द्रविड राजनीतिको विरासतमा नयाँ शक्तिको उदयसँगै ठूलो धक्का पुगेको छ। केरलमा विगत १० वर्षदेखि सत्तामा रहेको वामपन्थी मोर्चा (एलडीएफ) को पतन गरी कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चा (यूडीएफ) को पुनरागमन भएको छ। उत्तरपूर्व भारतको असममा भाजपाले आफ्नो पकड अझ सशक्त बनाउदै आएको छ र लगातार ‘ह्याट्रिक’ गरेर नयाँ कीर्तिमान निर्माण गरेको छ।

पुडुचेरीमा एनआर कांग्रेसको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (राजग) ले पुनः सत्ता कायम गर्दै आफ्नो राजनीतिक निरन्तरता पुष्टि गरेको छ। पश्चिम बंगालमा भाजपाको ऐतिहासिक प्रवेश यसपाली सबैभन्दा आश्चर्यजनक राजनीतिक परिवर्तनको संकेत देखिएको छ। सन् २०२१ को निर्वाचनमा २१३ सीट जित्दै ४७.९ प्रतिशत मतसहित एकछत्र राज गरेको तृणमूल कांग्रेस (टीएमसी) का लागि यो परिणाम अत्यन्त नकारात्मक रह्यो।

मत प्रतिशतमा पार्टीहरूमा भिन्नता देखियो; भाजपा ४५.५६ प्रतिशत मतसहित अग्रस्थानमा रहँदा टीएमसी ४०.९४ प्रतिशतमा झर्‍यो। यसरी भाजपाले आफ्नो मतमा ६.७८ प्रतिशत सुधार गर्दा टीएमसीले ६.५१ प्रतिशत मत गुमाएको विवरणले देखाउँछ। यो निर्वाचन उच्च मतदान प्रतिशतका कारण पनि स्मरणीय रह्यो। सन् २०२१ मा ८१.८ प्रतिशत मतदान भएकोमा यस वर्ष ९२.४७ प्रतिशत पुगेको छ, जुन स्वतन्त्रता पश्चात अत्यन्त उच्च मतदान दर हो।