
१९ वैशाख, इलाम । हामी भविष्यलाई राम्रो बनाउन चाहन्छौं, तर अतीतमा किन फर्किन्छौं? इतिहास किन पढ्नु आवश्यक छ? सुजित मैनालीको यस प्रश्नको उत्तर दिँदै इलामका युद्ध वैद्यले भने- ‘मुख्य कुरा इतिहासले आफैंलाई चिनाउँछ। म को थिएँ, कहाँ थिएँ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ।’ महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख रहेका वैद्य ‘इलामको इतिहास’ पुस्तकका लेखक र इतिहास विज्ञ पनि हुन्। पूर्वी पहाडको इतिहासको छलफलबाट सुरु भएको सेसनमा उनले यस्तो धारणा राखेका थिए। पाँचौँ संस्करणको इलाम साहित्य महोत्सव २०८३ ‘जराको कुरा, हाम्रो इतिहासको चर्चा’ विषयमा वैद्यसँगै लेखक मोहन मैनाली पनि छलफलमा थिए। ‘अगाडि बढ्न केही पछाडि सर्नुपर्छ, पछाडि के छ? हेर्नुपर्छ। जीवनलाई सहज बनाउन इतिहास पढ्नुपर्छ। इतिहासलाई विद्यालयमा अनिवार्य पठनवस्तु बनाउनुपर्छ,’ मैनालीले थपे, ‘पानीको इतिहास राम्रोसँग पढेको भए बेलासे ‘झापाबाट इलाम आउने छोटो बाटो’मा समस्या हुन्नथ्यो।’ मदन पुरस्कार विजेता पुस्तक मुकाम रणमैदानका लेखक मैनालीले इतिहास पढ्नैपर्ने विषय भएको चर्चा गरे। ‘हिमालपारी, हिमालवारी’ विषयमा पनि इतिहासकै चर्चा भयो। नेपाल–चीन सम्बन्धको इतिहासको चर्चा पत्रकार सुधीर शर्माले गरेका थिए। ‘इतिहासकै निरन्तरता वर्तमान हो। इतिहास नहेरी अहिलेको चित्र बुझिँदैन। नेपालको लिखित इतिहास धेरै पुरानो छैन, तर चीनमा धेरै पहिलादेखिका लेख्य सामग्रीहरू छन्,’ शर्माले भने, ‘नीति निर्माण गर्ने तहका व्यक्तिहरूले, हामी आफैं सचेत भएर देशलाई सही दिशामा लैजान इतिहास अध्ययन गर्नैपर्छ।’ ‘भिक्षु, व्यापार र विद्रोह’ पुस्तकका लेखक शर्माले विगतका गल्ती दोहोरिन नदिन र सशक्त राष्ट्रिय नीति निर्माणका लागि इतिहासको गहन अध्ययन अपरिहार्य रहेको धारणा राखेका थिए। पत्रकार दीपक सापकोटासँग छलफलमा सहभागी उनले इतिहास महत्वपूर्ण विषय भएको तर्क गरेका थिए। महोत्सवको पहिलो दिन ‘डिजिटल मासुभात र हामी पत्रकार’ विषयमा बोल्दै प्रदान सम्पादक बसन्त बस्नेतले इतिहास पढ्ने र पढाउने बेलामात्र आएको बताएका थिए। इलाम साहित्य महोत्सवको दोस्रो दिन शिक्षा विधेयकको सकसमा डा. योगेन्द्रमान श्रेष्ठ, पूर्ण गौतम र टंक गौतमसँग सटेन्द्र जवेगुले छलफल गरेका थिए। त्यस्तै, सीमावर्ती साहित्यका बारेमा विनीता क्षेत्री, कृष्ण बराल र ज्ञानेन्द्र याक्सोसँग डा. हेम भण्डारीले छलफल गरेका थिए। दोश्रो दिन कविता पाठ कार्यक्रम पनि सम्पन्न भयो।
अरेन्ज इकोनोमी र ग्रीन इकोनोमीमार्फत इलामको विकास: इलाम साहित्य महोत्सव २०८३ को दोस्रो तथा अन्तिम दिन इलाम–१ का सांसद निष्कल राईले ‘अरेन्ज इकोनोमी र ग्रीन इकोनोमीमार्फत इलामको विकास’ को अवधारणा साझा गरेका छन्। उनले इलाम केवल दृश्य मात्र नभई संस्कृति र सभ्यता भएको उल्लेख गर्दै प्रकृतिलाई नष्ट नगरी स्रोतको उपयोग गर्नु नै ग्रीन इकोनोमी भएको बताए। ग्रीन इकोनोमीको अभ्यास शुरु गरिएपनि इलामले आगामी दिनमा अरेन्ज इकोनोमीमार्फत पर्यटन विकास गर्नुपर्ने धारणा राखे। ‘हाम्रो संस्कृति, परम्परा, संगीत र कला पनि आर्थिक सम्पत्ति हुन्। चिया उत्पादन मात्र होइन, त्यो कथा र ब्रान्ड पनि हो, अब हामीले ती कथाहरू पनि बेच्नुपर्छ,’ उनले भने। पर्यटकहरू स्थान मात्र होइन, अनुभव र रैथाने कथा खोज्दै आउने भएकाले स्टोरीटेलिङ पर्यटनलाई प्रवर्द्धन गर्न आवश्यक भएको उनी बताउँछन्। सृजनात्मक अर्थतन्त्र वा अरेन्ज इकोनोमीलाई अब इलामले बेच्नुपर्ने उनको विचार छ।
इलाममा इको-टुरिजमका लागि पर्याप्त आधार रहेको उल्लेख गर्दै संस्कृतिसँग जोडिएको अनुभव बेच्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए। ‘अरेन्ज इकोनोमीका अभ्यास लागू गर्न सके इलामको पर्यटन दुईदेखि चारगुणासम्म बढ्न सक्छ,’ उनले भने। दुई दिन चलेको इलाम साहित्य महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। कविता, पर्यटन, आख्यान लगायतका विभिन्न विषयमा छलफल, रचनापाठ, सम्मान तथा पुरस्कार वितरण गर्दै महोत्सव सकिएको हो।






