
पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सिटमा २१ मे मा पुनः मतदान गरिने निर्वाचन आयोगले निर्णय गरेको छ। निर्वाचन आयोगले २९ अप्रिलको मतदानमा गम्भीर अनियमितता र मतदातामाथि आतंक मच्चाइएको तथ्य पत्ता लगाएपछि यस्तो आदेश दिएको हो। आयोगले सुरक्षा कडा गर्न, भिडियो रेकर्डिङ गर्न र आफैं निगरानी गर्न निर्देशन दिएको छ।
२० वैशाख, काठमाडौं । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लामा पर्ने फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ। निर्वाचन आयोगले २१ मे मा मतदान पुनः गर्ने निर्णय गरेको छ। समाचार अनुसार, २९ अप्रिलमा भएको मतदानमा ‘‘गम्भीर गडबडी’’ भएको र लोकतान्त्रिक प्रक्रियामा बाधा पुगेको देखिएपछि यस्तो कदम चालिएको हो।
निर्वाचन आयोगले यो निर्णय मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी र निर्वाचन पर्यवेक्षकहरुको प्रतिवेदनको आधारमा पुनः निर्वाचन आवश्यक भएको ठहर गरेको छ। पर्यवेक्षकहरुले मतदातालाई डर देखाइएको र मतदान केन्द्रहरुमा अवैध उपस्थिति भएको उल्लेख गरेका छन्। त्यसैले आयोगले फाल्टा विधानसभा सिटमा रहेका सबै २८५ मतदान केन्द्रहरूमा दिनको ७ बजेदेखि साँझ ६ बजेसम्म पुनः मतदान गर्न निर्देशन दिएको छ।
पुनः गडबडी नहोस् भनेर पर्याप्त सुरक्षा प्रबन्ध मिलाउन, चुनाव प्रक्रियाको सम्पूर्ण समयमा भिडियो रेकर्डिङ गर्न र स्वतन्त्र निगरानीको व्यवस्था गर्न आयोगले आदेश दिएको छ। मतदानपछि मतगणना २४ मेबाट सुरु गर्ने तयारी छ। २३ र २९ अप्रिलमा भएका विधानसभा निर्वाचनको नतिजा ४ मे मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।






