Skip to main content

नेपालमा चट्याङको जोखिम र बच्ने उपायहरू

नेपालमा चैतदेखि असारसम्म प्रि-मनसुन अवधिमा चट्याङको जोखिम अत्याधिक रहन्छ र चुरे क्षेत्र सबैभन्दा जोखिमपूर्ण मानिन्छ। कच्ची घरमा बस्नेहरू चट्याङबाट बढी जोखिममा हुन्छन् किनभने जस्ताको छानाले सजिलै विद्युत् करेन्ट घर भित्र पस्ने गरेको हुन्छ र अर्थिङ सिस्टम नहुँदा इलेक्ट्रिक सर्ट हुन्छ। चट्याङ लागेको व्यक्तिलाई छुन सकिन्छ र नाडी नपाए सीपीआर दिनुपर्छ, साथै प्राथमिक उपचारको लागि तुरुन्त अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ। प्रि-मनसुनको सुरुवातसँगै नेपालमा चट्याङ सम्बन्धी घटना तीव्र रूपमा बढ्ने गरेका छन्। वर्षको यस समयमा आकाशमा बिजुली चम्किनु र मेघ गर्जने आवाजसँगै चट्याङ पर्ने जोखिम पनि अत्यधिक हुन्छ। नेपालमा हरेक वर्ष चट्याङका कारण दर्जनौंको मृत्यु र सयौंको घाइते हुने घटना भइरहेका छन्।

नेपालमा चट्याङ कहिले बढी पर्छ? नेपालमा चैत र वैशाख महिनामा सबैभन्दा धेरै चट्याङ हुने गर्दछ। प्रि–मनसुन अवधिमा विद्युतीय चार्ज उत्पादन गर्ने बादलहरू सक्रिय हुन्छन्। वर्षायामका बादलहरूमा पनि विद्युतीय चार्ज हुन्छ, तर त्यस समयमा पानी प्रचुर मात्रामा हुने हुँदा पानीसँगै विद्युत् चार्ज जमिनमा झर्छ। प्रि–मनसुनमा पानी कम पर्ने कारण बादलहरू लामो समयसम्म उथलपुथल गर्दै मडारिन्छ र चट्याङ पर्ने गर्छ। सामान्यतया चिसो मौसम र वसन्त ऋतुमा चट्याङको घटना कम पाइन्छ। चैतको मध्यदेखि असारसम्म चट्याङ बढी हुने गर्दछ।

नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्ला देखिएको छ। त्यस्तै बारम्बार चट्याङ पर्ने क्षेत्रमा झापा र मोरङ पनि पर्दछन्। कच्ची वा कमजोर घरमा बस्ने मानिसहरू चट्याङबाट अत्यधिक जोखिममा रहन्छन्। चट्याङबाट बच्न आकाशमा बिजुली चम्किएसँगै थचक्क बस्नु आवश्यक हुन्छ। हातलाई घुँडामा टेकाएर टाउको निहुराएर भुइँ सतहमा होचो स्थानमा बस्न उपयुक्त मानिन्छ। चट्याङ पर्दा वा मेघ गर्जने आवाज सुनिँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढा बस्नुपर्छ।

यदि आफ्नो वरपर कसैमा चट्याङ परेको देख्नुभयो भने सकेसम्म तत्काल नजिकैको अस्पतालमा लैजान एम्बुलेन्स बोलाउनुपर्छ। एम्बुलेन्स आउनेसम्म प्राथमिक उपचार गर्नुपर्छ। चट्याङ लागेका व्यक्तिमा विद्युत् करेन्ट बाँकी नरहने भएकाले उनलाई छुँदा अरूलाई कुनै जोखिम हुँदैन। चट्याङ लागेको व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औंला वा कान राखेर श्वासप्रश्वास भइरहेछ कि छैन जाँच्न सकिन्छ। यदि नाडी सपर्श गर्दा नभेटिएमा तुरुन्तै सीपीआर दिनु आवश्यक हुन्छ।