Skip to main content

विपद् प्रतिकार्य अभ्यास हातेमालोको आठौं संस्करण सुरु

सैनिक मुख्यालय जंगी अड्डाले विपद् प्रतिकार्य अभ्यास हातेमालोको आठौं संस्करणको सुरुवात गरेको छ। उपरथी अनुप जंग थापाले यो अभ्यासको शुभारम्भ गरेका हुन्। यो अभ्यास तीन दिनसम्म मनसुनको समयमा सम्भावित बाढी र पहिरोको परिस्थिति मध्यनजर गर्दै सञ्चालन गरिनेछ। २१ वैशाख, काठमाडौं।

सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ कि विपद् व्यवस्थापनसम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायहरूबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउनको लागि अभ्यास हातेमालोको आठौं संस्करण सुरु गरिएको हो। नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७५÷०७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमै सञ्चालन गरिएको थियो।

त्यसयता, जंगी अड्डामा वार्षिक रूपमा यो अभ्यास हुँदै आएको छ। मनसुनको समयमा हुनसक्ने सम्भावित बाढी र पहिरोको अवस्था विचार गरी तीन दिनसम्म अभ्यास सञ्चालन गरिने बताइएको छ। यसपछि क्रमशः प्रादेशिक र जिल्ला तहमा अभ्यासहरू सञ्चालन गरिनेछ। कार्यक्रममा रथीहरू, विभिन्न मन्त्रालय, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू, अन्य सुरक्षा निकायका सदस्यहरू र नेपाली सेनाका अधिकृतहरू उपस्थित थिए।