Skip to main content

तमिलनाडुको मुख्यमन्त्री एमके स्टालिन पराजित

२१ वैशाख, काठमाडौं । द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख तथा तमिलनाडुको मुख्यमन्त्री एमके स्टालिन आफ्नै गढ कोलाथुरबाट चुनावमा पराजित भएका छन्। तमिलनाडुको विधानसभा निर्वाचनमा स्टालिनलाई तमिलगा भेत्री कझगम (टीभीके) का उम्मेदवार बीएस बाबुले आठ हजार ७९५ मतान्तरले पराजित पारेका छन्। अन्तिम मतपरिणाम अनुसार बीएस बाबुले ८२ हजार ९९७ मत प्राप्त गर्दा मुख्यमन्त्री स्टालिनले मात्र ७४ हजार २०२ मत पाएका छन्।

स्टालिन सन् २०११ देखि लगातार कोलाथुर सिटबाट निर्वाचित हुँदै आएका थिए र यसपटक पनि उनको विजय सहजै हुने अपेक्षा गरिएको थियो। तर, यस चुनाव हारपछि स्टालिन तमिलनाडुको चुनावी इतिहासमा सत्तामा रहँदा आफ्नै निर्वाचन क्षेत्रमा हार बेहोर्ने चौथो मुख्यमन्त्री बनेका छन्। तमिलनाडुमा कार्यरत मुख्यमन्त्रीले निर्वाचन हार्नु करिब तीन दशकपछि पहिलो घटना हो। यसअघि सन् १९९६ को विधानसभा निर्वाचनमा तत्कालीन मुख्यमन्त्री जे जयललिता बरगुर निर्वाचन क्षेत्रबाट पराजित भइन्।

त्यसयता कुनै पनि वर्तमान मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र गुमाएका थिएनन्। तमिलनाडुको लोकतान्त्रिक इतिहास अनुसार सन् १९५२ को पहिलो विधानसभा निर्वाचनमा कांग्रेसका पीएस कुमारस्वामी राजा श्रीविल्लिपुथुर सीटबाट पराजित भएका थिए। त्यसपछिको सन् १९६७ मा कांग्रेस सत्ताबाट बाहिरिएपछि डीएमके शक्तिमा आउँदा तत्कालीन मुख्यमन्त्री एम भक्तवत्सलमले पनि श्रीविल्लिपुथुर सिटमै हार बेहोरेका थिए। स्टालिन डीएमकेका पहिलो मुख्यमन्त्री हुन्, जसले सत्ताको नेतृत्व गरिरहँदा पनि आफ्नै निर्वाचन सीट रक्षा गर्न सकेनन्।