Skip to main content

फेसबुक र इन्स्टाग्राम छाड्ने दुई करोड प्रयोगकर्ताको कारण के हो?

फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताहरूको संख्या करिब दुई करोडले घटेको छ। यी लोकप्रिय सामाजिक मिडिया प्लेटफर्महरूको फिडको घट्दो गुणस्तर, अत्याधिक विज्ञापन र दोहोरिने सामग्रीले प्रयोगकर्ताहरूलाई असन्तुष्ट बनाएको छ। प्रयोगकर्ताहरू दिक्क भएर यी प्लेटफर्महरू छाड्न थालेपछि मेटाले आफ्नो एल्गोरिदममा व्यापक परिवर्तन सुरु गरेको छ। समाचार अनुसार मेटाको उद्देश्य अब फेसबुक र इन्स्टाग्राममा मौलिक सामग्रीलाई प्राथमिकता दिनु रहेको छ।

पछिल्लो समयमा फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताहरूले फिड पहिलेभन्दा फरक र कम आकर्षक भएको गुनासो गरेका छन्। फिडमा अत्याधिक प्रायोजित पोस्टहरू, बारम्बार दोहोरिने सामग्री र एल्गोरिदममा आधारित सिफारिस गरिएका पोष्टहरूको मात्रा बढेको छ भन्ने अनुभव छ। यसले गर्दा साथीहरू र फलो गरेका खाताबाट आएका पोष्टहरू कम देखिन थालेका छन्। धेरै प्रयोगकर्ताहरूले सामाजिक मिडियालाई अहिले एल्गोरिदमले संचालित मनोरञ्जन प्लेटफर्मजस्तै भएको बताइरहेका छन्।

विशेषज्ञहरूको अनुसार मेटाले प्रयोगकर्ता सहभागिता बढाउन रेकमेन्डेड सामग्रीमा बढी ध्यान दिन थालेको छ, तर यसले प्रयोगकर्ताको अनुभवमा नकारात्मक प्रभाव पारेको छ। मेटाको व्यापार मोडेल विज्ञापनमा आधारित छ। तथापि, हालको रणनीतिले प्रयोगकर्ताको अनुभवलाई भारी असर गर्न थालेको देखिन्छ। प्रयोगकर्ताहरूलाई नियमित रूपमा धेरै प्रायोजित विज्ञापन र प्रमोशनल सामग्री देखाइन्छ, जसले उनीहरूलाई दिक्क बनाउँछ।

मेटाले गरेका परिवर्तनहरू बढ्दो आलोचनालाई मध्यनजर गर्दै आफ्नो रिकमेन्डेशन एल्गोरिदममा फेरबदल गर्न थालेको छ। इन्स्टाग्राममा उल्लेखनीय परिवर्तन गर्दै मौलिक सामग्रीलाई बढी प्राथमिकता दिइने छ, जबकि रिपोस्ट गरिएको वा कम सम्पादन गरिएका सामग्रीहरूको पहुँच घटाइने छ। मेटाका लागि सबैभन्दा ठूलो चुनौती मनिटाइजेसन र प्रयोगकर्ता सन्तुष्टिको बीच सन्तुलन कायम गर्नु हो।