
चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै पाँचौं जित हासिल गरेको छ। सन्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाएर चेन्नईको जितमा मुख्य भूमिका खेलेका थिए। दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १५ बल बाँकी छँदै पूरा गरेको छ।
२२ वैशाख, काठमाडौं। सामसनको उत्कृष्ट ब्याटिङ प्रदर्शनले चेन्नईलाई यो जित दिलाएको हो। मंगलबार सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्यो। दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले २ विकेट गुमाएर १५ बल बाँकी छँदै पूरा गर्यो। सामसनले ८ चौका र ७ छक्का प्रहार गर्दै ८७ रन बनाए भने कार्तिक शर्माले ४१ रन वर्षे। यी दुईले तेस्रो विकेटका लागि अविजित ११४ रनको साझेदारी गरे।
दिल्लीका लागि कप्तान अक्षर पटेल र लुंगी एंगिडीले १–१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। समीर रिज्भीले सर्वाधिक अविजित ४० रन बनाए। चेन्नईका लागि नूर अहमदले २ विकेट लिए भने अन्य चार खेलाडीले १–१ विकेट लिए। यो जितसँगै चेन्नई १० अंकसहित छैटौं स्थानमा यथावत् छ भने दिल्ली ८ अंकसहित सातौं स्थानमा छ।






