
तीन दिने यात्रामा विराटनगरबाट अयोध्या, प्रयागराज र बनारसका पौराणिक शहरहरूमा धार्मिक स्नान र दर्शन गरियो। मान्छेको मन अनौठो हुन्छ। कहिले शान्त पानीझैँ स्थिर हुन्छ, त कहिले आँधीबेहरीझैँ अनियन्त्रित बन्छ। व्यस्त चिकित्सकीय जीवन, अस्पतालका सेता भित्ताहरू र बिरामीका सुस्केरा बीच कतै एक आध्यात्मिक प्यास लुकेको थियो। त्यो प्यास र कम समयले एउटै योजना जन्मायो। साधारण पर्यटकका लागि ‘असम्भव’ र भक्तका लागि ‘महापर्व’ सरह थियो। बिहीबारदेखि आइतबारसम्मको तीन दिनको अवधि थियो, तर गन्तव्य तीनवटा पौराणिक शहरहरू थिए। अयोध्या, प्रयागराज र बनारसका अनगिन्ती आध्यात्मिक अनुभूति। धेरैले यसलाई ‘थकाउने यात्रा’ भन्दथे, तर मेरो लागि यो एउटा ‘आध्यात्मिक म्याराथन’ जस्तो रह्यो।
बिहीबार बिहानै सामान्य कामहरू छिटो सम्पन्न गरेर विराटनगरबाट हाम्रो टोली प्रस्थान गर्यो। टोलीमा म, मेरी पत्नी सोमनी, छोरा विप्लव, छोरी बन्दना, भाउजू रम्भा, दिदी अहिल्या र यात्राको चालक कुलदीप थिए। कुलदीपको भारतीय नम्बर प्लेट भएको गाडी हाम्रो यात्रा साधन मात्र थिएन, त्यो एउटा चलायमान ‘सानो घर’ थियो जहाँ विश्वास र उत्साहको इन्धन भरिएको थियो। अयोध्यामा पुगेर हामीले सरयू नदीको किनारमा स्नान गर्यौं। स्नानपश्चात हनुमानगढ़ीको दर्शन र नयाँ निर्मित भव्य राम मन्दिर हेर्ने मौका पाए।
प्रयागराजमा, हामी त्रिवेणी संगममा स्नान गर्न पुग्यौं। यहाँ गंगा, यमुना र अदृश्य सरस्वती नदिहरूको संगम हुन्छ। स्नान गरेर त्यहाँको प्रसिद्ध सुतेका हनुमानको दर्शन पछि हाम्रो यात्रा बनारसतर्फ मोडियो। बनारसमा, हामीले दशाश्वमेध घाटमा स्नान गर्यौं र काशी विश्वनाथको भव्य मन्दिरमा दर्शन गर्यौं। शनिबार साँझ ६:४० मा गंगा आरती हेर्न पुनः दशाश्वमेध घाट पुग्यौं। सात जना पण्डितहरूले भव्य पूजा गर्दै आरतीका दीपहरू उचाल्दा, शंखध्वनि गुन्जिएर र गंगाको लहरमा हजारौँ बत्तीहरू सजिएर तैरिरहेको देख्दा साक्षात् ईश्वरीय शक्ति यहाँ छ जस्तो अनुभूति भयो।
शनिबार राति ९ बजे बनारसलाई विदाई दिएर हामी घर फर्कने यात्रा शुरू गर्यौं। आइतबार दिउँसो १२ बजे विराटनगरको आफ्नै आँगनमा आइपुग्यौं। यसरी तीन दिनको ‘आध्यात्मिक म्याराथन’ पूरा भयो। यो यात्रा केवल भूगोल भ्रमण मात्र थिएन, यो एउटा ‘डाक्टर’ भित्रको ‘आस्था’सँगको संवाद र पारिवारिक जिम्मेवारी पनि थियो। सरयूको मर्यादा, संगमको ज्ञान र काशीको भक्तिलाई मनमा उतारेर घर फर्कनु नै यस यात्राको सबैभन्दा ठूलो उपलब्धि हो।






