Skip to main content

भारत–चीनले गरेको सम्झौता नेपालका लागि मान्य हुँदैन – गणेश पराजुली

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रको दुई छिमेकी मुलुकबीच भएको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने बताएका छन्। बुधबारको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै पराजुलीले यसो बताएका हुन्। उनले सरकारले सीमा विवादलाई गम्भीरतापूर्वक लिएको र कूटनीतिक नोट पठाइसकेको जानकारी दिएका छन्।

पराजुलीले नेपाललाई जानकारी नगराई दुई छिमेकी राष्ट्रहरूले लिपुलेक सम्बन्धी गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाए। उनले भने, “सीमा विवादजस्ता संवेदनशील विषयलाई उत्तेजना भन्दा कूटनीतिक र राजनीतिक संवादबाटै समाधान गर्नुपर्छ।” उनका अनुसार सरकारले यस प्रक्रिया अघि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादमार्फतै समस्याको समाधान निकाल्ने सरकारको प्रतिबद्धता छ।

सरकारको धारणा स्पष्ट पार्दै पराजुलीले भने, “हाम्रो जानकारी बिना दुई छिमेकी देशहरूले गरेको व्यापारिक सम्झौता हामीलाई स्वीकार्य छैन।” उनले यो विषयमा धेरै टिप्पणी गर्न आवश्यक नरहेको पनि बताए, किनकि सरकारले आफ्ना आवश्यक पहलहरू सुरु गरिसकेको छ।