Skip to main content

आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रबेश

इङ्लिस फुटबल क्लब आर्सनल ले २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। सेमिफाइनलको दोस्रो लेगमा आर्सनलले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गर्दै समग्रमा २-१ को अग्रता कायम राखेको छ। फाइनल खेल मे ३० मा हंगेरीको पुस्कास एरेनामा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको विजेतासँग हुनेछ। २३ वैशाख, काठमाडौं।

गएको राति भएको सेमिफाइनल दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० ले हराउँदै लण्डनको आर्सनल फाइनलमा पुगेको हो। पहिलो लेग १-१ को बराबरीमा सकिएकाे थियो। घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलका बुकायो साकाले खेलको ४५औं मिनेटमा लियांद्रो ट्रोसार्डको पासबाट निर्णायक गोल गर्दै टिमलाई अघि बढाएका थिए।

एट्लेटिकोले पनि गोल गर्ने अवसर पाएको थियो, तर तिनीहरूलाई सदुपयोग गर्न सकेनन्। अब आर्सनल फाइनलमा बायर्न म्युनिख र पिएसजी बीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो लेगमा पीएसजीले बायर्न म्युनिखलाई ५-४ ले पराजित गरेको थियो। आर्सनलले पछिल्लो पटक सन् २००५-०६ को सिजनमा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो, जहाँ बार्सिलोनासँग २-१ ले पराजित भएर उपविजेता बनेका थिए। यो दोस्रो पटक हो फाइनलमा पुग्ने, र आर्सनल पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ।