Skip to main content

पीएसजी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश, बायर्न म्युनिख बाहिर

पेरिस सेन्ट जर्मेनले बायर्न म्युनिखसँग १–१ को बराबरी गर्दै समग्रमा ६–५ को जित हासिल गरी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल मे ३० मा बुडापेस्टमा हुने छ र पेरिस सेन्ट जर्मेनले उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको इन्जुरी समयमा ह्यारी केनले गोल गरे तापनि त्यो गोलले बायर्नलाई फाइनलमा पुग्न सकाएको थिएन। २४ वैशाख, काठमाडौं। पूर्व विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। गत राति सेमिफाइनलको दोस्रो चरणमा बायर्न म्युनिखसँग १–१ को बराबरी पछि समग्र स्कोर ६–५ ले पेरिस सेन्ट जर्मेनले आफ्नो उपाधि रक्षा गर्ने यात्रा जारी राखेको छ।

म्युनिखको एलियान्ज एरिनामा सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनका उस्मान डेम्बेलेले मात्र तेस्रो मिनेटमै गोल गरे। भिचा भरात्स्खेलियाको उत्कृष्ट रन र पासमा डेम्बेलेले शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए। घरेलु टोली बायर्न त्यसपछि खेलमा फर्कन निरन्तर प्रयासरत रह्यो।

ह्यारी केनलाई पेरिसको रक्षापंक्तिले अधिकांश समय नियन्त्रणमै राख्यो। पहिलो हाफमा बायर्नले पेनाल्टीको माग गरेको थियो तर रेफ्रीले त्यो अस्वीकार गरे। दोस्रो हाफमा पनि पेरिस सेन्ट जर्मेनले केही उत्कृष्ट मौका बनायो। डिजायर डुएले नेटमा प्रहार गर्यो, तर बायर्नका गोलरक्षक मानुएल नोयरले उत्कृष्ट बचाउ प्रदर्शन गरे। खेलको इन्जुरी समयमा ह्यारी केनले अल्फोन्सो डेभिसको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। तर त्यो गोल बायर्नका लागि फाइनल पुग्न पर्याप्त भएन। यससँगै पेरिस सेन्ट जर्मेन अब उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।