Skip to main content

दुजाङ शेर्पाले भने: सरकारले राजनीतिक नियुक्तिहरूलाई नकारात्मक देखाउने गलत प्रचार गरिरहेको छ

२४ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी सङ्घका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति र पदाधिकारीहरू खराब हुने भन्ने गलत प्रचार सरकारबाट फैलाइएको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले विगतका सरकारहरूले गरेका सबै राजनीतिक नियुक्तिलाई बदनाम गर्न खोजेको आरोप लगाए। ‘राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति खराब हुन् र उनीहरूले मात्र ब्रिफकेस बुझाएर नियुक्ति पाएका हुन् भन्ने गलत प्रचार अहिले सिर्जना गर्न खोजिएको छ,’ उनले भने।

विगतका सरकारले नियुक्त गरेका पदाधिकारीहरूलाई आर्थिक चलखेल गर्ने व्यक्तिहरूको रूपमा देखाउन खोजिएको भन्दै शेर्पाले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि पनि प्रश्न उठाए। ‘प्रधानमन्त्रीको क्याबिनेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ। अब उहाँले स्पष्ट भन्नुपर्छ, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा कति करोड आर्थिक चलखेल गर्नुभएको थियो?’ प्रश्न गर्दै उनले थपे, ‘उहाँलाई नेपाली कांग्रेसले विज्ञताको आधारमा विश्वास गरेर नियुक्त गरेको थियो।’

साथै, उनले विद्यार्थी सङ्घजस्ता सङ्गठनहरूलाई खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै यसको प्रतिवादमा विद्यार्थीहरूले तयारी अवस्थामा रहन आग्रह गरे।