
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन बार र बेन्चबीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ। उहाँले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ। न्यायपालिकामा रहेका अवरोधहरू हटाउन संवादले सहयोग पुर्याउने र जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्ने उहाँको भनाइ छ।
६ चैत, काठमाडौं। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि बार र बेन्चबीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ। शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उहाँले आगामी चैत १८ गतेबाट बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गर्नुभयो।
उहाँले यसले न्यायपालनमा रहेका अवरोधहरू हटाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अदालत अहिले जटिल परिस्थिति र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै उहाँले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
‘अहिले अलिकति विषम परिस्थिति छ, र केही स्वार्थ समूहहरू पनि सक्रिय छन् जसले न्यायपालिकाप्रति जनआस्था घटाउन र न्यायपालिकालाई कमजोर बनाउन खोजिरहेका छन्। कसैको सक्षमता र निष्ठामा प्रश्न उठाउनु ठीक हो, तर न्यायपालिकाको आधारभूत न्यायिक आस्था र संस्थालाई कमजोर बनाउन कुनै पनि पक्ष सहमत छैन। यहाँ सम्पूर्ण बार, महिला कानुन व्यवसायी र अदालतले सँगसँगै काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो। सुशासनका लागि न्याय परिषदलाई प्रभावकारी बनाउने र सूक्ष्म निगरानीलाई निरन्तरता दिने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो। न्यायाधीश मल्लले न्याय क्षेत्रमा महिलाहरूको बढ्दो सहभागिताको बाबजुद बारम्बार उनीहरूको क्षमतामाथि प्रश्न उठाइने विषयमा असन्तुष्टि पनि व्यक्त गर्नुभयो।






