अमेरिकी र इरानी सेनाबीच गोली हानाहान भए पनि ट्रम्पले भने ‘युद्धविराम कायम छ’

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी र इरानी सेनाबीच बिहीबार राति गोली हानाहान भए पनि युद्धविराम अझै कायम रहेको बताएका छन्। प्रष्ट छैन कुन पक्षले पहिला गोली चलायो। इरानी एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको तथा अर्को जहाज होर्मुज जलमार्गमा आउन खोजेको बेला तटीय क्षेत्रमा “हवाई हमला” गरेको आरोप लगाएका छन्।
अमेरिकाले भनेको छ कि होर्मुज जलमार्गमा अमेरिकी नौसेनाको निर्देशित क्षेप्यास्त्र विध्वंसकमाथि इरानले आक्रमण गरेपछि यो “आत्मरक्षा” मा प्रत्याक्रमण गरिएको हो। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेखेका छन् कि इरानी आक्रमणकारीहरूलाई “ठूलो क्षति” पुर्याइएको छ र धेरै साना डुङ्गाहरू नष्ट पारिएका छन्। “यी डुङ्गाहरू छिटो र प्रभावकारी तरिकाले समुद्र सतहमा पुगे। हाम्रा विध्वंसकमाथि क्षेप्यास्त्र प्रहार गरियो तर ती सजिलै पर्छाइए। ड्रोनहरू पनि आए, जसलाई हावामै नष्ट गरियो,” ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पले इरानविरुद्ध अमेरिकी नाकाबन्दी कायम रहेको पनि बताएका छन्। यसअघि उनले इरानसँग सम्झौताका लागि “ठूलो प्रगति” भएको बताउँदै होर्मुज जलमार्गमार्फत जहाजहरू निकाल्ने काम अमेरिकाले मङ्गलबार स्थगित गरेको थियो। इरानले बुधबार भनेको थियो कि उनीहरूले अमेरिकी नयाँ युद्ध अन्त्य प्रस्तावको अध्ययन गरिरहेका छन्। अमेरिकी नयाँ प्रस्तावमा इरानले परमाणु प्रशोधन कार्यक्रम निलम्बन गर्ने, प्रतिबन्ध हटाउने र होर्मुज जलमार्गबाट पानीजहाजहरूको आवागमन पुनः सुरु गर्ने जस्ता विषयहरू छन्।
ट्रम्पले भनेका छन् कि अमेरिकाले इरानलाई परमाणु अस्त्र हासिल गर्न कुनै पनि किसिमको अवसर नदिनेछ। उनले थपे, “इरानले यसबारे सहमति दिएको छ। अब हेर्नुपर्छ कि उनीहरू सम्झौतामा हस्ताक्षर गर्न तयार छन् कि छैनन्।” “वार्ताहरू राम्रोसँग अगाडि बढिरहेका छन्, तर सम्झौतामा हस्ताक्षर नभए ठूलो पीडा हुनेछ भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ,” ट्रम्पले चेतावनी दिएका छन्। यसअघि बुधबार ट्रम्पले सहमतिका संभावनामा आशा व्यक्त गर्दै हिंसाबारे नयाँ चेतावनी दिएका थिए।
ट्रम्पले लेखेका थिए, “यदि इरान सम्झौताका लागि सहमत हुँदैन भने बमबारी सुरु हुनेछ र त्यो पहिलाको भन्दा उच्च स्तरको र भयावह हुनेछ।” इरानी प्रतिक्रियाः घटनाप्रति इरानको इस्लामिक रिवोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यस घटनाबारे प्रतिक्रिया जनाउँदै अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। आईआरजीसीले विज्ञप्तिमार्फत् जनाएको छ कि अमेरिकी सेनाले जास्क बन्दरगाह नजिकै एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको हो। “इरानी नौसेनाले सघन विस्फोटक युद्धशीर्ष समुद्रबाट जबाफ दियो र अमेरिकी शत्रुहरूलाई महत्वपूर्ण क्षति पुर्याएको गुप्तचर निगरानीबाट पत्ता लागेको छ। शत्रुको तीन अतिक्रमणकारी जहाज तत्काल होर्मुज जलमार्गबाट भागेका छन्,” आईआरजीसीले सामाजिक सञ्जाल एक्स मा पोस्ट गरेको छ।






