Skip to main content

कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा सभापतिहरू अनुपस्थित

२६ वैशाख, धनगढी। नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेला शनिबारदेखि धनगढीमा सुरु गरेको छ। भेलामा सहभागी हुन पार्टी सभापति गगनकुमार थापासहितका नेताहरू धनगढी आइसकेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलोपटक निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा भइरहेको कार्यक्रममा सम्बोधन गर्दै छन्। कांग्रेसका नेतागर तथा कार्यकर्ताले थापालाई धनगढी विमानस्थलमै स्वागत गरेका छन्।

उनको स्वागतका लागि देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह आफ्ना क्याबिनेटका मन्त्रीहरू लिएर धनगढी विमानस्थल पुगे पनि सुरक्षाकर्मीले भित्र प्रवेश नदिँदा शाहले थापासँग भेट्न सकेनन्। मुख्यमन्त्री र मन्त्रीहरू थापाको स्वागतमा पुगेका थिए, तर देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने उपस्थित भएनन्। स्रोतका अनुसार सभापति बलायर भलै भेलामा सहभागी नहुने निश्चित छ।

कैलाली सभापति भट्टले भने कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेको बताए। राष्ट्रिय सभा सदस्य समेत रहेका भट्टले राजनीतिक कारण नभई संसदको काम व्यस्तताका कारण सहभागी हुन नपाएको बताएका छन्। उनले भने, ‘संसदीय कामकाजका कारण म काठमाडौंमै छु। राजनीतिक रूपमा सहमति वा असहमति राख्ने कुरा अलग हो। अहिले कार्यव्यस्तताका कारण सहभागी हुन सकिरहेको छैन।’ भेलामा देउवा पक्षका अन्य केही जिल्ला सभापतिहरू पनि सहभागी नहुने सम्भावना नेताहरूले उल्लेख गरेका छन्। कांग्रेसले दुई दिनसम्म चल्ने भेलामा प्रतिनिधि सभाकाे परिणाम र स्थानीय तहका जनप्रतिनिधिका कामकाजको समीक्षा गर्ने बताएको छ।