फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअप सार्वजनिक, कुन देशमा कसले दिनेछन् प्रस्तुति?

समाचार सारांश: फिफा विश्वकप २०२६ को उद्घाटन समारोह अमेरिका, क्यानडा र मेक्सिकोका तीन फरक स्थानमा हुने भएको फिफाले शुक्रबार सार्वजनिक गरेको छ। अमेरिकाको लस एन्जलसमा जुन १२ मा ९० मिनेटको उद्घाटन समारोह हुनेछ जसमा क्याटी पेरी लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। विश्वकप जून ११ देखि जुलाई १९ सम्म तीन राष्ट्रमा आयोजना हुनेछ र ४८ उत्कृष्ट देशले प्रतिस्पर्धा गर्नेछन्। २६ वैशाख, काठमाडौं।
फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजना गर्ने राष्ट्रमा हुने भएको छ। फिफाले शनिवार आयोजक अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअप सार्वजनिक गरेको छ। विश्व फुटबलको महाकुम्भका रूपमा चिनिने फिफा विश्वकपको उद्घाटन समारोह यस पटक तीन फरक देशमा मनाइने फिफाले जनाएको छ, जहाँ विश्वप्रसिद्ध कलाकारहरू क्याटी पेरीदेखि नोरा फतेहीसम्म प्रस्तुति दिनेछन्।
उत्तर अमेरिकामा हुने यस विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ समेट्ने प्रयास गरिनेछ। फिफा विश्वकपको इतिहासमा पहिलोपटक तीन फरक उद्घाटन समारोह आयोजना हुन लागेको छ। जुन १२ मा अमेरिकाको लस एन्जलसमा उद्घाटन समारोह हुनेछ, जहाँ क्याटी पेरी, फ्युचर, अनित्ता, लिसा, रेमा र टायलाले प्रस्तुति दिनेछन्। फिफाले उक्त दिन लस एन्जलसमा ९० मिनेटको उद्घाटन समारोह हुने जानकारी दिएको छ।
फिफा अध्यक्ष जेरेमी इन्फान्टिनोले भने, लस एन्जलसमा हुने यस उद्घाटन समारोहले फिफा विश्वकप २०२६ कति विशाल र असाधारण हुनेछ भन्ने स्पष्ट रूपमा देखाउनेछ। उहाँले थपे कि कलाकारहरूको यस सूचीले अमेरिकाको सांस्कृतिक विविधता र त्यहाँ रहेका विभिन्न आप्रवासी समुदायहरूको जीवन्तता झल्काउनेछ, साथै यसले संगीत, मनोरञ्जन र पप संस्कृतिमा अमेरिकाको समृद्ध प्रभावलाई उजागर गरी देशभरिका मानिसहरूलाई एकतामा बाँध्ने संगीतको शक्तिलाई पनि प्रस्तुत गर्नेछ।
मेक्सिकोमा जून ११ मा हुने उद्घाटन समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, डान्नी ओशियन, जे बालविन, लिला डोभन्स, लस एन्जलस अजुल, माना र टायलाले प्रस्तुति दिनेछन्। क्यानडामा जुन १२ मा हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलेस्सिया कारा, एलिएना, जेस्सी रेयेज, माइकल बबल, नोरा फतेही, सन्जोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुति दिनेछन्। जून ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा विश्वका उत्कृष्ट ४८ देशले प्रतिस्पर्धा गर्नेछन्।






