
नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि जितेका छन्। पुरुषतर्फ अक्कल र महिलातर्फ सन्तोषीले उपाधि हात पारेका हुन्। नेपालगञ्जमा पहिलोपटक स्कुल टु ओलम्पिक कार्यक्रम नेपाल ओलम्पियन एसोसियसन र रेस नेपालको संयुक्त आयोजनामा सम्पन्न भयो। २६ वैशाख, नेपालगञ्ज।
अक्कल बहादुर पालले १० किमी खुला पुरुषतर्फ ३२ मिनेट १८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। भुपेन्द्र सुनारले ३३ मिनेट ०४.७७ सेकेण्डमा दोस्रो र बाँके नरैनापुरका अरविन्द यादवले ३३ मिनेट ०८.०९ सेकेण्डमा तेस्रो स्थान प्राप्त गरे। महिलातर्फ सन्तोषीले ३० मिनेट ९ सेकेण्डमा दूरी समाप्त गरिन्। दोस्रो स्थानमा बाँके कोहलपुरकी दीपशीखा शाही ४४ मिनेट ५८.१३ सेकेण्डमा र तेस्रो स्थानमा गीता साहु ५२ मिनेट २६.३० सेकेण्डमा आइन्।
संगीत र खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ समाज र रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित रोड रेसमा भेट्रान (४५ वर्षमाथि) १० किमी तर्फको उपाधि बाँके खजुराका ५५ वर्षीय भरत श्रेष्ठले जिते। उनले ५१ मिनेट ०३.१७ सेकेण्डमा दूरी पूरा गरे। यसमा बर्दिया गुलरियाका ६९ वर्षीय पुष्कर विश्वकर्मा १ घण्टा ४ सेकेण्डमा दोस्रो र नेपालगञ्जका ६९ वर्षीय मंगले तामाङ १ घण्टा ३ मिनेट ५९ सेकेण्डमा तेस्रो भए।
स्कुल स्तरीय ५ किमी दौडमा छात्रतर्फ समीर बस्नेत, बसन्त माझी र नरेश कुँवर पहिलो, दोस्रो र तेस्रो भए भने छात्रातर्फ स्वस्तीका शाही, अप्सरा बम ठकुरी र जनदेवी महतारा शीर्ष तीन स्थानमा आए। विजेता खेलाडीलाई लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, पूर्व सदस्यसचिव भीम ओली, आयोजक क्रियटिभ गन्जका अध्यक्ष टीएस ठकुरी, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतले नगद तथा पदकबाट पुरस्कृत गरे।






