Skip to main content

२०० भन्दा बढी चालकलाई जथाभावी हर्न बजाएको अभियोगमा कारबाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने २०० भन्दा बढी सवारी चालकलाई विशेष अभियानअन्तर्गत कारबाही गरेको छ। प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालकलाई ट्राफिक नियम पालना गर्न र नो हर्न सम्बन्धी जनचेतना प्रदान गरिएको जानकारी दिए। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाइने खबर पनि दिएका छन्। २६ वैशाख, काठमाडौं।

काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ। उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी वाले क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने र अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

उक्त अभियानका क्रममा चालकलाई ट्राफिक नियम पालन, सुरक्षित यात्राको महत्त्व र ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको जानकारी दिइयो। हाल उपत्यकामा सञ्चालन भइरहेको उक्त विशेष अभियानलाई आगामी दिनमा पनि अझ प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताएका छन्। उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीडभाड हुने सडकमा विशेष निगरानी बढाइएको छ।