
३० वैशाख, पोखरा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला निर्वाचित भएका छन्। उनले ९०३ मत प्राप्त गरेर जित निकाले। सिटौलाका निकटतम प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत पाए, जसले दुवै बीच ४३९ मतको अन्तरले मतपरिणाम तय भएको छ। अध्यक्षमा निर्वाचित सिटौलाले यसअघि वरिष्ठ उपाध्यक्षको रूपमा कार्यभार सम्हालेका थिए।
निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका तीन पदमा ५८९ मतसहित सानुकाजी प्रजापति, ५८४ मतसहित एनकुमार साई र ५७१ मतसहित केदारप्रसाद पौडेल निर्वाचित भएका छन्। उपाध्यक्षको सात पदमा चन्द्र ओझा, आत्माराम शर्मा, टेकराज पन्त, कमलराज मित्र, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन्। मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ ७६ मतसहित विजयी भएका छन्।
महासचिव पदमा धनञ्जय गौतम ६९८ मतसहित निर्वाचित भएका छन्। उपमहासचिवका तीन पदमा देवेन्द्र श्रेष्ठ, भानुभक्त बराल र प्रदीपसिंह खड्का निर्वाचित भएका छन्। सचिवका तीन पदमा उमेश केसी, चेतप्रसाद गौतम ‘अर्जुन’ र टंकप्रसाद ज्ञवाली निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा राजेश आचार्य ५९६ मतसहित विजयी भएका छन्। निर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि नीतिगत तहबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सार्वजनिक यातायातमा जीपीएस र इटिकेटिङको व्यवस्था गर्ने बताएका छन्।






