१७ वर्षपछि पनि अधुरो रह्यो मध्यपहाडी लोकमार्ग निर्माण, १८ पुलको ठेक्का बाँकी

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना १७ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। यसलाई २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल चलिरहेको निर्माण कार्यको गति र बाँकी ठेक्काहरु हेर्दा तोकिएको समयभित्र योजना सम्पन्न गर्न कठिन देखिन्छ। पहाडै-पहाड पूर्वदेखि पश्चिमसम्म यात्रा सम्भव पार्ने विकल्पका रुपमा रहेको मध्यपहाडी लोकमार्गले नेपालका विभिन्न गाउँमा सेवा सुविधा पुर्याएको छ। ३१ वैशाख, पाँचथर।
पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म पुग्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना १७ वर्षसम्म पुरा हुन सकेको छैन। नेपाल सरकारले आफ्नै स्रोतबाट आर्थिक वर्ष २०६४/६५ देखि यस आयोजना संचालनमा ल्याएको थियो। आर्थिक वर्ष २०६९/७० देखि यो लोकमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरिएको थियो। शुरुवाती लक्ष्य आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न गर्ने भए पनि लक्ष्य पूरा नहुँदा संशोधित लक्ष्य २०८४/८५ मा सारिएको छ। तर, हालको निर्माण कार्य तथा बाँकी ठेक्काहरुको स्थिति हेर्दा निर्धारित म्यादभित्र काम सकिन कठिन देखिन्छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय काठमाडौंका अनुसार कुल १,८७९ किलोमिटर मध्य ३२८.३६ किलोमिटर कालोपत्रे बाँकी छ। सूचना अधिकारी सचिन श्रेष्ठका अनुसार १११ किलोमिटर सडक कालोपत्रेको ठेक्का लागिन बाकी छ भने १८ वटा पुलको ठेक्का व्यवस्थापन अझै बाँकी छ। ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको छ। आयोजना निर्देशक बुद्धरत्न तुलाधरले भने, “ठेकेदारले काम नगर्दा समस्या बढेको छ। धेरै ठेक्का रुग्ण अवस्थामा छन्। बजेट अभाव छैन, तर ठेकेदारहरुले काम गर्दैनन्।”






