Skip to main content

मष्तिष्कघात र हृदयघातका मुख्य कारणहरूमा नयाँ वैज्ञानिक खोज

वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि संसारका प्रत्येक पाँचमध्ये एक व्यक्तिमा मष्तिष्कघात र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम वृद्धिमा एउटा वंशानुगत र लुकेको कोलेस्ट्रोलको खतरा हुन्छ। साधारण रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि यस विशेष प्रकारको तत्वले मुटुको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ भन्ने नयाँ अनुसन्धानले देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, रगतमा पाइने यो लुकेको कोलेस्ट्रोल कणलाई ‘लिपोप्रोटिन ए’ अर्थात् Lp(a) भनिन्छ। यो खराब कोलेस्ट्रोल जस्तै देखिन्छ, तर यसमा एउटा अतिरिक्त प्रोटिन हुन्छ जसले यसलाई मुटु र रक्तनलीका लागि अझ हानिकारक बनाउँछ। यो समस्या पूर्ण रूपमा वंशानुगत हुन्छ र यसको कुनै बाहिरी लक्षण देखिँदैन। त्यसैले विश्वका करिब २० प्रतिशत मानिसहरू यो जोखिम बोकेर बाँचिरहेका छन्, तर उनीहरूलाई यसबारे कुनै जानकारी नै छैन।

क्यानडाको मोन्ट्रियलमा आयोजित ‘सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन’ २०२६ को वैज्ञानिक सम्मेलनमा यो प्रतिवेदन प्रस्तुत गरिएको छ। अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानले सञ्चालन गरेको तीनवटा ठूला अध्ययनमा सहभागी ४० वर्षभन्दा माथिका २० हजार ७० जना वयस्कहरूका रगतका नमूनाहरू परीक्षण गरी यो निष्कर्ष निकालिएको हो। करिब ४ वर्षसम्म गरिएको अनुगमनका क्रममा Lp(a) को मात्रा १७५ nmo/L वा सोभन्दा बढी भएका व्यक्तिहरूमा मुटुसम्बन्धी गम्भीर समस्या देखिएका छन्। यस्ता बिरामीहरूमा मुटुको रोगबाट हुने मृत्युको सम्भावना ४९ प्रतिशत र मष्तिष्कघातको जोखिम ६४ प्रतिशत बढी हुने अध्ययनले देखाएको छ। विशेषगरी पहिले नै मुटुको रोग भएका व्यक्तिहरूमा यो मात्रा उच्च हुँदा जोखिम अझ बढी रहेको पाइएको छ।

वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. सुभाष बनर्जीका अनुसार, यो अनुसन्धानले पहिलो पटक Lp(a) को कुन स्तरले बिरामीलाई मृत्यु र स्ट्रोकको जोखिममा पार्छ भन्ने स्पष्ट रूपमा निर्धारण गरेको छ। उनले भनेका छन् कि उमेर जतिसुकै भए पनि मानिसहरूले एक पटक साधारण र सस्तो रगत परीक्षण गरेर आफ्नो शरीरमा यो वंशानुगत जोखिम छ कि छैन पत्ता लगाउन सक्छन्। यदि रगतमा यसको मात्रा उच्च देखिन्छ भने चिकित्सकको सल्लाहमा अन्य जोखिमहरू जस्तै एलडीएल कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने र मुटुलाई स्वस्थ राख्ने उपायहरू कडाइका साथ अपनाउनुपर्छ। भविष्यमा यसलाई लक्षित गरी उपचार गर्ने नयाँ विधिहरू विकास भइरहेका छन्, जसले गर्दा यो जानकारी बिरामीहरूका लागि अत्यन्त महत्त्वपूर्ण रहने वैज्ञानिकहरूको विश्वास छ।