
नेपाल सुपर लिगको चौथो सिजन आगामी भदौ २० गतेदेखि होम एण्ड अवे फर्म्याटमा डबल राउण्ड रोविन प्रणालीमा सुरु हुने आयोजकले घोषणा गरेको छ। एनएसएलमा टिम संख्या १० देखि १२ पुर्याउने योजना छ र आयोजकले क्लबहरूसँग ५०-५० प्रतिशत राजस्व बाँडफाँड गर्ने मोडल अपनाउने जानकारी दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनएसएलले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने बताए भने एन्फा अध्यक्षले सफल आयोजनाको शुभकामना दिएका छन्।
महत्वकांक्षी लक्ष्यसहित नेपालको एक मात्र फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को चौथो सिजनको घोषणा भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएल आगामी भदौ २० गतेदेखि (सेप्टेम्बर ५) मा सुरु हुने घोषणा गरेको हो। होम एण्ड अवे फर्म्याटमा आयोजना गरिने लिगको बाँकी जानकारी आगामी दिनमा गराउँदै जाने एनएसएलका निर्देशक श्रेयांश कार्कीले जानकारी दिएका छन्।
आइतबारको पत्रकार सम्मेलनमा आयोजकले मुख्य गरी तीन कुरा घोषणा गर्यो। जसमा एनएसएलको मिति, डबल राउण्ड रोविन प्रणालीमा खेलाउने र टिम संख्या बढाउने घोषणा समावेश थियो। तर ४-५ महिना सञ्चालन गर्ने तयारीमा रहेको लिगसंग सम्बन्धित अन्य धेरै विषयमा भने अझै स्पष्ट रूपमा जानकारी आएको छैन। एनएसएल चार महिना सञ्चालनपछि शहीद स्मारक ए डिभिजन लिगको समय, मोफसलका गोल्डकपहरुको तालिका कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केही जानकारी दिइएको छैन।
एनएसएलको चौथो सिजनमा आयोजकले क्लबहरूसँग राजस्व मोडल बाँड्ने जनाएको छ, जसमा आयोजक र क्लबहरूको ५०-५० प्रतिशत हिस्सा रहनेछ। मन्त्रीदेखि सदस्य सचिवसम्मको उपस्थिति रहेको कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलदेखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता सम्म उपस्थित थिए। मन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार लगायत पनि उपस्थित थिए।

