कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक मेयर डंगोलले फ्रान्स प्रस्थान गरिन्

३ जेठ काठमाडौं । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्स प्रस्थान गरेकी छन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फ्रान्स जान लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। फेस्टिभलका विभिन्न सत्र तथा कार्यक्रममा सहभागी भई उनी ८ गते स्वदेश फर्कनेछिन्। कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ चलचित्र विधिका सदस्य नगर हुन्।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले विसं २०८० कात्तिक १४ गते काठमाडौंलाई चलचित्र सहर सञ्जालको सदस्यको रूपमा चयन गरेको थियो। कान्स फेस्टिभल क्रिएटिभ सहरहरूलाई एकत्रित गर्ने अवसर हो। फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालित अडियो–भिजुअल सामग्रीमा आधारित कन्टेन्टबारे जान्न सजिलो हुनेछ, कान्सका मेयरले डंगोललाई पठाएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ। भ्रमणको क्रममा डंगोलले कान्सका मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यस वर्षको कान्स फिल्म फेस्टिभलमा नेपालबाट अविनाशविक्रम शाहको ‘इलिफेन्ट इन द फग’ चलचित्र प्रदर्शन गरिनेछ। रचनात्मक विश्व सहर सञ्जालमा एक सयभन्दा बढी देशका चार सयभन्दा बढी सहरहरू आबद्ध छन्।

