Skip to main content

नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गर्यो

फाइल तस्वीर। ४ जेठ, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपालले अमेरिकालाई हराएको टिमलाई निरन्तरता दिँदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। अघिल्लो खेलमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा खेल्नेछन्। स्कटल्याण्डबाट ओली जोन्सले आज ओडीआईमा डेब्यु गर्दैछन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो। त्यसपछि अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाल जितको लय कायम राख्ने लक्ष्यमा छ। नेपाल २६ खेलबाट २० अंकसहित अंकतालिकामा सातौं स्थानमा छ। शीर्ष स्थानमा रहेको स्कटल्याण्डको ३० खेलबाट ३८ अंक छ। स्कटल्याण्डलाई पराजित गरेमा नेपालको स्थानमा पनि सुधार हुनेछ। नेपालको प्लेइङ ११ कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी।