
नेपाल तामाङ घेदुङको १०औं संघीय महाधिवेशनबाट रामकृष्ण ब्लोन तामाङ अध्यक्षमा निर्वाचित भएका छन्। सहअध्यक्षमा सरोजमोहन लामा निर्विरोध र वरिष्ठ उपाध्यक्षमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन्। प्रदेशगत संघीय सदस्यहरूमा प्रदेश १, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र प्रवास शाखाबाट विभिन्न उम्मेदवार निर्वाचित भएका छन्। ४ जेठ, काठमाडौं।
महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच जनाले प्रतिस्पर्धा गरेका थिए। रामकृष्ण ब्लोनले ३०६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९, अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे। सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गरेका छन्। पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसअन्तर्गत काजिमान थिङ ३७८ मत, रुपबहादुर योन्जन २४६ मत, दिनेश कुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित भएका छन्।
महासचिव पदमा लिलाकुमार घलान निर्विरोध निर्वाचित भएका छन्। उपमहासचिव (खुल्ला) तर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिव (महिला) मा श्रमिक लामा निर्विरोध निर्वाचित भएकी छन्। सचिव पदमा सुनिल मोक्तान २५१ मत, सुन्दर थोकर तामाङ १९९ मत तथा हिरालाल तामाङ १९४ मतसहित विजयी भएका छन्।

