नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गुटहरू तोड्दै पार्टीलाई सशक्त बनाउने नीति अघि बढाउने घोषणा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गुटहरू तोडेर पार्टीलाई अझ सशक्त बनाउने नीति अघि बढाउने बताएका छन्। उनले विशेष महाधिवेशनमा सहभागी नभएका व्यक्तिहरूलाई समेत जिम्मेवारी दिने योजना रहेको बताएका छन्। शर्माले सदस्यता अद्यावधिक प्रक्रियामा अविश्वास नगर्न र वडा सभापतिलाई विश्वास गर्न आग्रह गरे।
४ जेठ, काठमाडौं। शर्माले सोमबारदेखि काभ्रेको धुलिखेलमा सुरु भएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले भने, “विशेष महाधिवेशनमा सहभागीहरूलाई मात्र जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ। तर, विशेषमा सहभागी नभएका व्यक्तिहरूलाई समेत समेट्दै क्रमशः जिम्मेवारी दिइरहेका छौं र अझै थप समावेश गरिनेछ। यसैलाई गुट भत्काएर पार्टी सशक्त बनाउने बाटो मान्छौं।”
उपसभापति शर्माले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरे। उनले भने, “गगन थापालाई विश्वास नगर्नु ठीक होला, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्।” साथै सदस्यता अद्यावधिक प्रक्रियामा कसैप्रति शंका वा अविश्वास गर्नु आवश्यक नरहेको तर्क गरे।

