Skip to main content

मोरङमा भूमिहीन सुकुमवासीहरूको विरोध प्रदर्शन

मोरङका भूमिहीन सुकुमवासीहरूले विराटनगरमा डोजर आतंक अन्त्य र उचित बसोबासको व्यवस्था गर्न विरोध प्रदर्शन गरेका छन्। सुकुमवासीहरूले संसारी माइस्थानबाट सुरु गरेको र्यालीले विराटनगरका विभिन्न स्थानहरू घुमेर जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका थिए। भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समितिको आह्वानमा विभिन्न स्थानबाट आएका सुकुमवासीहरूले सरकारलाई बसोबासको उचित व्यवस्था गर्नुको जिम्मेवारी भएको बताएका छन्।

४ जेठ, काठमाडौं। बस्तीमा डोजर चलाइएको विरोधस्वरूप विराटनगरमा भूमिहीन सुकुमवासीहरूले प्रदर्शन गरेका छन्। यो प्रदर्शन संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार सम्पन्न भएको हो। उनीहरूले बसोबासको ग्यारेन्टीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई अमानवीय र गैरजिम्मेवार कदम भएको भन्दै विरोध प्रकट गरेका छन्। बालबालिका, महिला, ज्येष्ठ नागरिक र अशक्तहरूको संवेदनशीलतालाई समेत बेवास्ता गर्दै डोजर प्रयोग गरी बस्ती उखेलिएको हुँदा देशभरका सुकुम्वासीहरूमा त्रास फैलिएको उनीहरूको गुनासो छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको अधिकार दिएको छ भने धारा ५१ मा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने राज्यको नीति उल्लेखित छ। तर सरकारले संविधान र कानुन विपरीत नागरिकलाई घरबारविहीन बनाइरहेको छ।’ उनीहरूले सुकुम्वासी बस्तीमा भइरहेको डोजर आतंक तत्काल रोक्न, सुकुम्वासीहरूको अर्थपूर्ण सहभागिता हुनेगरी उच्चस्तरीय छानबिन समिति गठन गर्न र वास्तविक सुकुम्वासीको पहिचानका लागि नगर र वडा तहबाट लगत संकलन गरी उचित व्यवस्थापन गर्न माग राखेका छन्।